पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो स् तल्लो क्षेत्रका गाउँ जोखिममा

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।

“माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ”, वडाअध्यक्ष खत्रीले भन्नुभयो । यसैबीच पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिसहितको एक टोली पहिरो स्थलतर्फ गएको छ । वडाअध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीले वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको जनाएको छ ।

पहिरो स्थलमा बाबियाचौरबाट प्रहरीको टोलीसमेत प्रस्थान गरेको छ । खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई जोखिम रहेकाले सजग रहन अनुरोध गरिएको छ ।





error: Content is protected !!