जब कर्णालीको गोही बग्दाबग्दै किसानका खेतमा आइपुग्यो‘

बर्दियाको गेरुवा गाउँपालिका ६ बेलभारीयास्थित एक किसानको खेतमा साउन २९ गते बिहान गोही फेला पर्यो।
एकाबिहानै बड्घर (गाउँका अगुवा) ले खेतमा गोही फेला परेको सूचना बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर नारायणप्रसाद देवकोटालाई दिए। उनले गोहीको उद्धारको लागि सहयोग मागे।
निकुञ्जको बञ्जरिया रेञ्ज पोष्टमा कार्यरत देवकोटाले तत्कालै त्यो सूचना निकुञ्जको सुरक्षार्थ खटिने नेपाली सेनालाई दिए। स्थानीय सर्वसाधारणलाई पनि खबर भयो। तत्कालै उद्धार टोली हिँड्यो।
निकुञ्जको टोली बिहीबार बिहान साढे ६ बजेतिर बेलभरियास्थित गोही भएको धान खेतमा पुग्यो।
स्थानीय पहिल्यै पुगिसकेका थिए। त्यहाँ धान खेतमा मगर गोही रहेछ। यो गोही ठूलो आकारको हुन्छ। बर्दिया राष्ट्रिय निकुञ्जमा घडियाल (सानो) आकारको गोही पनि पाइन्छ।
निकुञ्जबाट उद्धार गर्न टोली पुगे पनि तालिमप्राप्त कोही थिएनन्। शैक्षिक ज्ञानका आधारमा र अनुभवको आधारमा त्यो टोली उद्धारमा खटिएको थियो। के गर्ने कसो गर्ने भन्ने भयो।
उनीहरूसँग गोही उद्धार गर्न आवश्यक विषेश प्रकारको औजार, उपकरण वा लठ्याउने कुनै विधि पनि थिएन। स्थानीय स्रोत साधनको प्रयोग गर्नुको विकल्प थिएन।










