डोल्पा जिल्ला अस्पतालको डिपिआर सच्याउन माग

डोल्पा ः स्थानीयले जिल्ला अस्पतालको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सच्याउन माग गरेका छन्। नयाँ बन्ने जिल्ला अस्पताल भवन माटोको गारो र जस्तापाता प्रयोग गरेर पुरानै शैलीको बनाउने गरी डिपिआर तयार पारिएपछि स्थानीयले त्यसको विरोध गर्दै नयाँ डिपिआर तयार पार्न माग गरेका हुन्।

जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि कर्णाली विकास सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड रुपैयाँ वनियोजन गरेको छ। नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट पुरानो डिपिआर परिवर्तन गर्दै नयाँ डिपिआर तयार गर्न अनुरोधका साथै ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

‘सरकारको करोडौँ रुपैयाँ खर्च गरेर आजभन्दा २०/३० वर्षअघिको पुरानो भवनजस्तै बनाउने गरी डिपिआर तयार पार्नु वैज्ञानिक होइन,’ अध्यक्ष बुढाले भने, ‘निर्माण सामग्री ढुवानीका लागि पनि यातायातको सहज पहुँच भइसकेको वर्तमान अवस्थामा पक्की आधुनिक संरचना निर्माण गनुपर्ने डोल्पालीको माग छ।’

पहिलाको जस्तै भवन बनाउन थालिए डोल्पालीका लागि सैह्य नहुने उनको भनाइ छ। सरोकारवालाको बैठकबाट भएको निर्णय जिल्ला समन्वय समिति हुँदै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाइने अध्यक्ष बुढाले बताए।

सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख इन्जिनियर चन्द्र खड्काले अहिलेको अवस्थामा बनाइने सार्वजानिक संरचनाहरु आधुनिक तवरबाट निर्माण गरिनुपर्ने बताउँदै पुरानो डिपिआर तयार मन्त्रालयले नै गरेकाले सच्याउन पनि उतै माग गर्नुपर्ने बताए। उनले भने, ‘हाम्रो संघ माताहतको कार्यालय हो, यो बजेट प्रदेश सरकारको हो, हामीले प्राविधिक कुरामात्र हेर्ने गर्छौं।’ उक्त आयोजना वहुवर्षीय भएकाले भवन निर्माण सम्पन्न नहुन्जेलसम्म प्रत्येक वर्ष बजेट आइरहने उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ क्षेत्र सहयोग कार्यक्रमका प्रमुख सल्लाहकार सुनिल खड्काले भवन निर्माणका लागि आवाश्यक निर्माण सामग्री लैजान समस्या हुन्छ कि भनेर माटो ढुङ्गा र जस्तापातासहितको पुरानो डिपिआर तयार पारीएको बताए। सम्बन्धित जिल्लाबाट डिपिआर सच्याउनका लागि अनुरोधसहितको निर्णय आएपछि सुर्खेतस्थित सामाजिक विकास मन्त्रालयसँग छलफल गरेर टुङ्ग्याइने उनको भनाइ छ थाहा खवरका लागि डोल्पाबाट रामचन्द्र न्यौपानेले समाचार लेखेका छन् ।





error: Content is protected !!