आर्थिक संकटमा चौरजहारीको पीसीआर ल्याब

रुकुम पश्चिम ः चौरजहारी नगरपालिका–२ स्थित जिल्ला आर्युर्वेदिक कार्यालयमा स्थापना गरिएको पीसीआर ल्याब आर्थिक संकटमा परेको छ । आर्थिक समस्याका कारण ल्याबमा किट अभाव भएपछि संकलन गरिएका स्वाब सुर्खेत पठाउन थालिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सदरमुकाम खलंगामा ३ दिनदेखि निषेधाज्ञा जारी गरिएको छ । तर संकलन गरिएका नमुना परीक्षणमा समस्या भएपछि मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका स्वाब सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको हो । चौरजहारी नगरपालिकाले १ करोड ५८ लाख रुपैयाँको लागतमा गत असार अन्तिम सातादेखि पीसीआर मेसिन सञ्चालनमा ल्याएको थियो । जसमा कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको छ । बाँकी ७१ लाख ६० हजार रुपैयाँ नगरपालिकाले लगानी गरेको छ ।

मेसिन सञ्चालनमा आएदेखि अहिलेसम्म बजेटले धाने पनि अब आर्थिक समस्या सुरु भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘संघ र प्रदेश सरकारले सहयोग नगरेपछि जिल्लाभित्रै आर्थिक स्रोत जुटाउने निर्णय भएको थियो,’ उनले भने, ‘निर्णय कार्यान्वयन नहुँदा ल्याब सञ्चालनमा समस्या देखियो ।’ केन्द्र सरकारले पीसीआर मेसिन सञ्चालनको लागि सहयोग नगरेको उनको गुनासो छ ।

चौरजहारीमा जडान गरिएको मेसिनले अहिलेसम्म जिल्लाका ६ स्थानीय तहसहित सल्यान र जाजरकोटका झण्डै २ हजार ३ सय स्वाब परीक्षण गरेको छ । दैनिक ३ लाख रुपैयाँ खर्च भइरहेकाले ल्याब आर्थिक समस्यामा परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । ‘यही अवस्था जारी रहे चौरजहारीबाहेक अन्यत्रको स्वाब परीक्षणमा मुस्किल हुन्छ,’ उनले भने, ‘सहयोगका लागि सबैतिर पहल गरिरहेका छौं ।’

जिल्ला विपद् व्यवस्थापन समितिले पीसीआर मेसिन स्थापना गर्ने निर्णय गरेको थियो । उक्त ल्याबमा अरु स्थानीय तहले ल्याब टेक्निसियन तथा असिस्टेन्ट पठाउने भने पनि कसैले पठाएनन् भने केही स्थानीय तहका फिर्ता भइसकेका छन् । अहिले सानीभेरी र आठबीसकोट नगरपालिकाले पठाएका प्राविधिकले मात्रै ल्याबमा काम गरिरहेको प्रयोगशालाले जनाएको छ । मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाले पठाएका प्राविधिक फिर्ता भइसकेका छन् ।

चौरजहारीमा किट सकिएको थाहा पाएपछि २ स्थानीय तहको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । उनका अनुसार चौरजहारीमा किट अभाव हुन नदिन प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिएको छ । ‘प्रयोगशालाको आर्थिक समस्या समाधानका लागि पहल भइरहेको छ,’ उनले भने, ‘जिल्लामै मेसिन भएपछि थप समस्या व्यहोर्नु नपर्ने गरी व्यवस्थापनका लागि छलफल चलाइरहेका छौं ।’





error: Content is protected !!