गृहणीमा कोरोना देखिएपछि तानसेन बजार शिल

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० साउन ः घरमै बसेकी एक गृहणी महिलामा कोरोना सङ्क्रमण देखिएपछि तानसेन बजार शिल गरिएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका वडा नं ४ बस्ने ४० वर्षीया एक महिलामा बिहीवार कोरोना सङ्क्रमण पुष्टी भएपछि सो वडाभित्र पर्ने बजार शिल गरिएको छ ।
बिहिवार साँझ ८ वजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि शिल गरिएको प्रशासन कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्क्रमण फैलनबाट रोक्नका लागि शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो ।
बिहीबार साँभm ८ वजे तानसेन बजारको बिशालबजारदेखि पूर्वमा हुलाकचोक, पश्चिममा गौरीशंकर होटल, उत्तरमा टक्सारको माछापसल र दक्षिणमा माथिल्लो पेट्रोल पम्पसम्मको क्षेत्र शिल गरिएको उहाँले बताउनुभयो । कोरोनाको सङ्क्रमण रोक्न शिल गरिएका क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।
समुदायस्तरमा सङ्क्रमण देखिएको तानसेनको यो पहिलो घटना हो । महिला लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएकी थिइन् । बुधबार पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै खटिएका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना सङ्क्रमण देखिएपछि स्थानीय त्रसित बनेका छन् ।
तानसेनका पाँच जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म सङ्क्रमितको संख्या पाँच सय ६३ पुगेको छ ।
पाँच सय ६० जना कोरोना जितेर घर फर्केका छन् । सङ्क्रमितमध्ये पाँच सय १६ पुरुष र ४७ महिला रहेका छन् । कोरोनाको कारणले जिल्लामा एक जनाको मृत्यु भएको छ ।








