कोभिडका बिरामीमा कपाल झर्ने समस्या

कोभिड संक्रमण र कपाल झर्ने समस्या एकअर्कासँग सम्बन्धित देखिन्न । कोभिडले श्वासप्रश्वासमा बढी असर गर्ने हुँदा कपाल झर्ने लक्षण नदेखिने चिकित्सकहरू बताउँछन् । तर, संक्रमण निको हुँदै गरेका बिरामीमा भने पछिल्लो समय कपाल झर्ने समस्या देखिन थालेको छ । छालारोग विशेषज्ञहरूले पछिल्लो समय ३८ देशका हजारभन्दा बढी बिरामीमा गरेको अध्ययनमा कोभिड संक्रमण निको हुँदै गरेका व्यक्तिमा कपाल झर्ने मुख्य समस्या देखिएको बताएका छन् ।

संक्रामक रोग लाग्दा हुने टेलोजोन एफ्लुभियमका कारण कपाल झर्ने समस्या हुने तथ्य पत्ता लागेको छ । भाइरसले शरीरमा असर पार्दा कपालको फोलिकल्सको वृद्धि चक्रलाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जसलाई मेडिकल भाषामा टेलोजोन एफ्लुभियम भनिन्छ । यस्तो समस्या कोभिडको कारणले मात्र नभई औलो, क्षयरोगका बिरामीमा पनि देखिने गरेको पाइन्छ । टेलोजोन एफ्लुभियम सामान्यतः कुनै रोगको कारणले स्वास्थ्य अवस्था जटिल भएको तीन महिनापछि देखिने गर्छ ।

यसले महिला र पुरुष दुवैलाई असर पारिरहेको हुन्छ । कपाल झर्ने समस्या गम्भीरखालको रोगले मात्र नभई शल्यक्रिया र मनोवैज्ञानिक तनावका कारणले समेत हुने गर्छ । छालारोग विशेषज्ञहरूका अनुसार एक दिनमा ५० देखि एक सयवटा कपाल झर्नु सामान्य मानिन्छ । तर, योभन्दा अत्यधिक कपाल झर्नु टेलोजोन एफ्लुभियमको लक्षण हुन सक्छ । सामान्यतः कोभिडका बिरामीमा कपाल झर्नुको अन्य कारण पत्ता नलागे पनि यसले निम्त्याउने जटिल स्वास्थ्य अवस्थाका कारण हुने टेलोजोन एफ्लुभियम नै कारण रहेको अनुमान गरिएको हो ।





error: Content is protected !!