रामपुरमा हेक्लाङ्गफाँट कुलो पहिरो गएपछि सिंचाई गर्न समस्या

सुशीला रेग्मी

रामपुर (पाल्पा), ः हेक्लाङ्गफाँट सिंचाई आयोजना जल उपभोक्ता समितिको कुलो पहिरो गएपछि कृषक समस्यामा परेका छन् । धान रोपेर सक्ने बित्तिकै वर्षाले कुलो पहिरो जादा रामपुर नगरपालिका १० स्थित हेक्लाङ्गफाँटमा सिंचाईको समस्या परेको छ ।

धान रोपेर हरियाली हुन नपाउँदै जगै सहित कुलो पहिरोले लगेपछि धान रोपाई गरेका खेत सुक्न थालेका छन् । आयोजनाको गहिरे पहिरो भन्ने स्थानमा माथिबाट खसेको ठुलो पहिरोले कुलोको १२ मिटर जग भत्काएको समितिका अध्यक्ष नोलराज भण्डारी बताउनुहुन्छ ।

उहाँका अनुसार करिव २५ मिटर जति कुलोमा पहिरोले क्षति पु¥याएको छ । पहिरो पन्छाएर कुलो मर्मत तथा सम्भार गर्न करिव रु साढे तीन लाख रकम लाग्ने अनुमान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

पहिरो पन्छाउने कार्यमा दुई दिन सम्म एक सय ५० जना मजदुरबाट काम भइसकेको छ भने काम सम्पन्न गर्न अझै एक सय जति मजदुर लाग्ने समितिले जनाएको छ ।

कुलोमा पहिरो खसेपछि पानी नै बन्द हुदा धान रोपाई गरेका खेत सुक्न थालेपछि कृषक मारमा परेको उपभोक्ता एकराज पाठकले बताउनुभएको छ । वर्ष दिन खाने खेतमा धान रोपाई सक्ने बित्तिकै पहिरोले कुलो लगेपछि कृषकलाई सिंचाई गर्ने अर्को माध्यम नहुदा समस्या परेको उपभोक्ता आनन्द भण्डारीले बताउनुभयो ।

“धान रोपेर हरियो हुन नपाउँदै वर्षा परेपछि पहिरोले कुलो भत्कियो, जग नै भत्किएपछि मर्मत तथा सम्भार तत्काल सकेर पानी सुचारु गर्न समस्या परिरहेको छ, खेत सुक्ने र फुट्ने अवस्थामा छन्” उहाँले भन्नुभयो ।

यस आयोजनाबाट हेक्लाङ्गफाँट क्षेत्रका एक सय ५५ हेक्टर क्षेत्रफलमा सिंचाई हुने गरेको छ । पुरानो कुलोको नामले प्रख्यात यस कुलो १६ औँ शताब्दिमा निर्माण भई हाल चार सय घरधुरीका उपभोक्ताले सिंचाई सुबिधा उपभोग गर्दै आइरहेको तुङ्गराज पौडेलले जानकारी दिनुभयो ।

झम्माखोलाको पाखापानी भन्ने स्थानमा बाँध बाँधेर सात किलोमिटर परबाट सिंचाईका लागि पानी ल्याइएको छ । पाल्पाको पश्चिममा अर्गली र पूर्वमा हेक्लाङ्गफाँट कुलोको नामले परिचित पुरानो कुलो रहेपनि केही भागमा अझै पक्की गर्ने काम बाँकी नै छ ।

यहाँका कृषकलाई धान रोपेर सकाएपनि कुलो कतिबेला भत्कन्छ भन्ने चिन्ताले रातदिन सताउने गरेको छ । हेक्लाङ्ग क्षेत्रमा प्रशस्त खेतीयोग्य जमिन छन् तर पटक पटक कुलो पहिरो जाने भत्किने समस्याले कृषकले लागत र मेहनत अनुसारको उत्पादन लिन भने सकिरहेका छैनन् ।





error: Content is protected !!