उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेट , एमसिसी अनुमोदनमा भइरहेको ढिलाइप्रति राजदूतको चासो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकाले चासो राखेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई आइतबार भेटेर नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले एमसिसीका विषयमा चासो राखेका हुन् ।
सत्तारुढ दल नेकपाकै नेताहरू एमसिसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका वेला राजदूत बेरीले उपप्रधानमन्त्रीसँग भेटेर एमसिसी पारित गर्ने विषयमा चासो देखाएका हुन् ।
गत १६ जेठमा संसदबाट पारित गर्ने गरी तालिकामा रहेको भए पनि पारित हुन नसकेपछि यसबारे अबको कदमबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर चासो राखेको बुझिएको छ ।
भेटमा राजदूत बेरीले एमसिसीको विषय के भइरहेका छ । भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जानकारी दिए ।
भेटमा बेरीले विश्वका अन्य देशहरूबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ। भन्दै चासो राखेको सहसचिव सुनारले बताए ।
भेटमा रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताएका थिए ।
उनले एमसिसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेकाले यसबारे निर्णय लिन ढिलाइ भएको राजदूत बेरीलाई जानकारी गराएका थिए ।










