रामपुरमा बराहदेवी स्मार्ट कृषि गाउँको अनुगमन

सुशीला रेग्मी

रामपुर (पाल्पा) रामपुर नगरपालिका वडा नं १० मा संचालित बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रमको अनुगमन भएको छ । प्रदेश नं ५ का प्रदेश सभा सदस्य युवराज खनाल, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल, रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने, कृषि प्राबिधिक, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रत्येक घर घरमा प्लाष्टिक घर निर्माण गरिने कार्यक्रम रहेपनि केही घरमा निर्माण पुरा नभएको पाइएको छ । स्मार्ट कृगिा गाउँ कार्यक्रममा आबद्ध कृषकलाई सिंचाईका लागि बनाइएको पक्की कुलो निर्माण सम्पन्न, थोपा सिंचाईका लागि कृषकलाई पाइप उपलब्ध गराइएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि नगरपालिकाले सहयोग नगरेको र अबका दिनमा सहयोग गर्न स्थानीय उपभोक्ताले अनुरोध गरेका छन् ।

प्रदेश सभा सदस्य युवराज खनालले बाँकी रहेका काम तत्काल सम्पन्न गर्न निर्देशन दिदै हेक्लाङ्गफाँट क्षेत्रलाई नमुना कृषिमय गाउँका रुपमा विकास गरिने प्रदेश सरकारको योजना रहेको बताउनुभएको छ ।

यस आर्थिक वर्षका लागि रामपुर नगरपालिकाले दश लाख वजेट सहयोग गरेको र आवश्यक सहयोग सधै गरिने आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

कृृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले नमुना स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको योजना अनुरुप चलेको यो कार्यक्रमले कृषकको जीवनस्तर उकास्नमा ठुलो मद्धत पुग्ने बताउनुभयो । यो कार्यक्रम लागु भएका क्षेत्रका कृषकले बाँझिएका जमिनमा तरकारी तथा अन्नबाली लगाउने, आधुनिक प्रबिधिको प्रयोग, उन्नत जातको वीउ विजन लगायतमा जोड दिन थालेपछि उत्पादन बृद्धि हुदै गएको प्रमुख अर्याल बताउनुहुन्छ । प्रदेश सरकारको सहयोगमा जिल्लाका चार स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन भइरहेको छ ।





error: Content is protected !!