राजनीति ओलीको सन्देश बोकेर देउवा निवास पुगे नेम्वाङ,सत्ता गठबन्धनका लागि ओलीको प्रस्ताव

 काठमाडौं    सत्ता दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आइतवार बिहानै देउवा निवास बूढानीलकण्ठ पुगेका नेम्वाङले नेकपाको राजनीतिक घटनाक्रमबारे जानकारी दिएको देउवा स्रोतले  जानकारी दियो। ‘पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पार्टीमा एक पद छोड् भनेर पेलेको बारे जानकारी गराएपछि सभापतिज्यूले मैले के गर्न पर्यो भन्दै सोध्नुभयो,’ स्रोत भन्छ, ‘प्रधानमन्त्रीज्यूले सरकारको लागि गठबन्धन गर्नुपर्यो भन्‍नुभएको छ, यही जानकारी गराउन आएको भनेर नेम्वाङले भन्‍नुभयो।’ ‘२ घण्टासम्मको छलफलका क्रममा केहीबेर सभापतिज्यू र नेम्बाङबीच वान टु वान छलफल पनि भएको थियो , केही बेरपछि केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाल पनि आउनुभएको थियो।’

वार्तामा बसेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजाल सत्ता गठबन्धनबारे कुनै कुरा नभएको बताएका छन् । उनले  कुरा गर्दै नेकपा स‌ं‌सदीय दलको उपनेताका हैसियतले स‌ंसदका कतिपय कुरा गर्नुपर्दा नेम्बाङ मार्फत कुरा हुने गरेको जानकारी दिए। रिजालका अनुसार आजको भेटमा संसद अधिवेशन अन्त्यलाई लिएर हुन गएको असमझदारी र संवैधानिक परिषदको बैठक बस्ने बिषयमा कुरा भएको थियो। नेम्बाङले संवैधानिक परिषदको बैठक बस्र नसकेर संवैधानिक आयोग र न्यायालयका धेरै नियुक्ति बाँकी रहेको प्रसंगमा कुरा गर्दा अध्यादेश मार्फत प्रतिपक्षीको भूमिका खुम्च्याउन र बाहिर पार्न खोजेको भन्दै देउवाले असन्तुष्टि पोखेका थिए ।

देउवाले नेकपाको आन्तरिक विवाद र ओली पक्षले गरेको तयारीको बारेमा जिज्ञासा राखे पछि नेम्बाङले विवाद मिल्ने दिशामा जाने बताउदै सरकारलाई प्रतिपक्षको सहयोग रहनु पर्ने बताए। त्यसको प्रत्युत्तरमा सभापति देउवाले नेकपा भित्रको विवादमा आफू नपस्ने भन्दै छिटो विवाद मिलाएर कोरोना नियन्त्रणमा लाग्न आग्रह गरेको पनि रिजालले बताएका छन्। रिजालले भने सत्ता गठबन्धन सम्बन्धी कुरा के हो रु भन्ने थाहा खबरले जिज्ञासा राख्दा आफ्नो उपस्थितिमा नभएको र सभापतिले पछि पनि आफूसँग केही नभन्नु भएकोले यसमा सत्यता छ भनेर विश्वास कसरी गर्ने ? भनेर प्रतिप्रश्न गरे ।

केही दिनअघि मात्रै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग गोप्य भेटवार्ता गरेका थिए। उक्त भेटमा संवैधानिक नियुक्ति र एमसीसीको विषयमा छलफल भएको दाबी कांग्रेसले गरे पनि नेकपाभित्र सत्ता गठबन्धनको विषयमा छलफल भएको भन्दै तरंग उत्पन्न भएको छ।





error: Content is protected !!