राष्ट्रपति भण्डारी र नेकपाका शीर्ष नेताबीच छलफल सकियो, बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच छलफल सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि शीतलनिवास पुगेका नेकपाका तीन नेताहरू भेट सकेर फर्किएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा शीर्ष नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिसँगको भेटमा नेताहरूले आफूहरू राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन सक्रिय भनेर चलाइएको हल्ला अफवाह मात्र भएको बताएको स्रोतले जनाएको छ ।

नेकपाका केही नेताहरू राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन सक्रिय भएको खबर सार्वजनिक भएपछि आफूहरू त्यस अभियानमा नरहेको स्पष्ट पार्न नेताहरू शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि अध्यक्ष दाहाल भने शीतलनिवासबाट सीधै बालुवाटार पुगेका छन् । बालुवाटरमा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच छलफल सुरु भएको छ ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि पार्टीमा विवाद बढेको छ ।

उनीहरूबीच नेकपाभित्र देखापरेको समस्या समाधान गरी स्थायी समिति बैठक अघि बढाउने विषयमा छलफल भएको हो ।

विवाद समाधानका लागि गृहकार्य गर्न भनेर नेकपाको स्थायी कमिटी बैठक दुई दिन स्थगित भएर सोमबारबाट फेरि सुरु हुने कार्यतालिका रहेको छ ।





error: Content is protected !!