यसकारण नेकपा बैठक स्थगित, शनिबार के हुन्छ ?

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको बढ्दो टकरावले पार्टी विभाजनको खतरा देखिएपछि संवादको उद्देश्यले नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित गरिएको छ । शुक्रबार दिनभर अध्यक्षद्वय ओली र प्रचण्ड तथा सचिवालयका नेताहरूबीच पार्टी एकतामा देखिएको संकट समाधानमा केन्द्रित रहेर छलफल हुने बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘यही परिस्थितिमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित आजको बैठकले पुनः पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न, पार्टी र सरकारको आवश्यकतालाई पनि पूरा गर्ने गरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेका कारण पर्सि (शनिबार) ११ बजेसम्म बैठक स्थगित गरिएको हो,’ बैठकपछि श्रेष्ठले भने ।

बिहीबार बिहान ११ बजे राखिएको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी भए पनि त्यसविपरीत संसद् अधिवेशन अन्त्यका लागि सिफारिस भएपछि आशंकाको स्थिति उत्पन्न भएको श्रेष्ठले पत्रकारहरूलाई ब्रिफिङ गरे ।

स्थायी कमिटी बैठक सुरु भइरहेकै वेला मन्त्रीहरूलाई बैठकबारे सूचना आएपछि स्थगित भएको थियो । स्थगनअघि नेताहरू अमृतकुमार बोहरा र केशव बडालले धारणा राखेका थिए ।

बैठक चलिरहेकै बीचमा मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेपछि स्थायी कमिटी बैठक स्थगन गरेर अध्यक्ष प्रचण्डसहित सचिवालय नेताहरूले ओलीलाई भेटेर जानकारी लिएका थिए । तर, ओलीले आफूले दुई दिन स्थायी कमिटी स्थगित गरेर सहमतिका लागि कोसिस गरौँ भन्दाभन्दै राखिएका कारण मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशन स्थगन गराएको जानकारी गराएका थिए । ‘तर, प्रधानमन्त्रीले बिहान कुरा भए पनि निर्णय भइसकेको जानकारी गराउनुभयो,’ श्रेष्ठले भने ।

पार्टी एकतामा खतरा उत्पन्न भएको स्वतः स्पष्ट भए पनि छलफल जारी रहेको र औपचारिक बैठकहरू पनि भइरहेकाले मुख्य निष्कर्ष बैठकले नै दिने श्रेष्ठको भनाइ छ ।

दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगितपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले के भने ?
आजको स्थायी कमिटी बैठकको प्रारम्भमा हिजो जारी कार्यसूचीमै छलफल भयो । कमरेडहरू केशव बडाल र अमृत बोहराले आफ्नो विचार राख्नुभयो ।

तर, त्यसलगत्तै एउटा नयाँ विषयमा सामान्य छलफलको स्थिति उत्पन्न भयो । मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी आयो । त्यतिवेलै केही मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी हुन जानुपर्ने जानकारी गराएर जानुभयो । सरकारले आजै संसदको चालू अधिवेशनलाई अन्त्य गर्ने सिफारिस राष्ट्रपतिलाई ग¥यो ।

सरकारको यस्तो निर्णय आएपछि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको समझदारीबारे स्थायी समितिमा ब्रिफिङ गराउनुभयो । बिहान दुई अध्यक्षबीच भएको सझदारीअनुसार आज मन्त्रिपरिषद् बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिने भन्नुभएको रहेछ ।
सरकारबाट निर्णय भइसकेपछि यस्तो त नहुनुपर्ने हो भनेर अध्यक्ष एवं प्रधानमन्त्रीसँग कुरा गर्न भन्दै स्थायी कमिटी बैठक स्थगित भयो । त्यसपछि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले अध्यक्ष एवं प्रधानमन्त्री र सचिवालयका अन्य केही कमरेडहरूसहित त्यसबारे छलफल भयो । बिहान कुरा भए पनि सरकारको निर्णयले केही गर्दैन भनेर मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउनुभयो ।

यही परिस्थितिको बीचमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित पुनः पार्टी एकतालाई हरहालतमा रक्षा गर्न, सुदृढ गर्न तथा पार्टी, सरकार र राष्ट्रको आवश्यकतालाई पनि पूरा गर्ने गरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेकाले पर्सि (शनिबार) ११ बजेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
आज वा नभए भोलि दिनभर अध्यक्षहरू र अन्य कमरेडहरूबीच पार्टीमा देखिएको संकट र त्यसको समाधानबारे छलफल हुनेछ र पर्सि ११ बजे पुनः स्थायी कमिटी बैठक बस्नेछ ।

अध्यक्ष प्रचण्ड राष्ट्रपतिकोमा जानुको कारण विशेषतः फेरि संसद् अधिवेशनको अन्त्य भएपछि अध्यादेशका विषय चर्चामा आएकाले अहिले त्यो स्थिति होइन भनेर राष्ट्रपतिलाई अनुरोध गर्न जानुभएको हो । राष्ट्रपतिले अहिले अध्यादेश आइसकेको छैन भन्नुभएको र प्रधानमन्त्रीले पनि अहिले नै म अध्यादेश जारी गर्ने स्थितिमा होइन भन्नुभएको भन्ने कुरा प्रचण्डले स्थायी कमिटीमा जानकारी गराउनुभयो ।
तर, यसबारे प्रधानमन्त्रीले भने बैठकमा आएर जानकारी गराउनुभएको छैन । यो सरकारको क्षेत्राधिकारभित्रको कुरा भए पनि अहिले नै अकस्मात् किन गरियो भन्ने हो ।





error: Content is protected !!