सोती घटना : नदीमा हाम फालेकालाई ढुंगा हानेर मारियकाे प्रहरीकाे निष्कर्ष

जाजरकाेट । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ । घटनामा संलग्न रहेको अभियोगमा ३३ जनाविरुद्ध तीनवटा कसुर र एकजनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।
पक्राउ परेका सोती गाउँका २८ र फरार पाँचजनासहित ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीनवटा कसुरमा अभियोग दर्ता भएको हो । त्यस्तै, पक्राउ परेका जाजरकोटका एकजनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।

पक्राउ परेका र फरार रहेकासमेत गरी ३४ जनामध्ये ३३ जनालाई तीनवटा र एकजनालाई तीनवटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार ३३ जनाविरुद्ध मुलुकी अपराध संहिता अनुसार जन्मकैद,आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कैद सजायको माग गरिएको छ ।
प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराध संहिताको दफा ३६ को कसुरमा दफा ३३ (ख) बमोजिम सजायको माग दाबी गरिएको छ । घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो ।
तीनवटा कसुरमा मतियार रहेको अभियोग लाग्नेमा जाजरकोट भेरी नगरपालिका– ४ का इन्द्रबहादुर मल्ल छन् ।
सोमबारदेखि बयान सुरु हुने श्रेस्तेदार बोहराले बताए । पक्राउ परेकामध्ये दुईजना बालबालिका छन् । उनीहरूको बयान सोमबारदेखि सुरु हुने र बाँकीको बयान मंगलबारबाट सुरु हुने श्रेस्तेदार बोहराको भनाइ छ ।
घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ । पाँचजना अझै फरार छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानको क्रममा नौजनालाई प्रहरीले पक्राउ गरेको हो । फरार पाँचजनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।
सोती गाउँकी प्रेमिकालाई बिहे गरेर लैजान भन्दै आएको जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँका नवराज विकको समूहलाई गाउँलेले लखेटेका थिए । सो क्रममा विकसहित भेरी नगरपालिकाका सञ्जु विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, टीकाराम नेपाली र गोविन्द शाहीले ज्यान गुमाएका थिए । उनीहरू सबैको छुट्टाछुट्टै दिन भेरी नदीमा शव फेला परेको थियो ।
जाजरकोट भेरी नगरपालिका– ४ का नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ की कथित माथिल्लो जातकी १७ वर्षीया किशोरीसँग प्रेम सम्बन्धमा रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा युवाहरूको हत्या भएको पीडित परिवारले दाबी गरेका छन् । यहाँ आफूले चाहको शब्द वा वाक्य प्रीति फन्टमा टाइप गर्नुहोस वा प्रीति फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।










