सोती घटनाका घाइतेलाई उपचार खर्च जुट्दै

जाजरकोट ः रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ स्थित सोती हत्याकाण्डका घाइतेलाई उपचार खर्च जुट्न थालेको छ ।
बिभिन्न मिडियामा ‘घाईतेको उपचार खोई ’ शीर्षकको समाचार प्रकाशन भएपछि घाइते तथा पीडितका लागि एक लाख ८० हजार रुपैयाँ खर्च जुटेको हो ।
समाचार पढेपछि संचारकर्मी सनी महतको पहलमा विनोद गौतम र अनी कर्माले सोती घटनाका १२ घाइते र ६ जना मृतक आफन्तका लागि उपचार खर्च र सहयोग रकम उपलब्ध गराएका हुन् । उक्त रकम बिहीबार घाइते तथा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । सोती घटनाका मृतकमध्येका भेरी नगरपालिका–११, मटेलाका गोविन्द शाहीको १३ औं पुन्यतिथीको अवसरमा आयोजित श्रद्धान्जली सभामा उक्त रकम वितरण गरिएको हो ।
सोती घटनाका घाइते सुदीप खड्का, मदन शाही, इन्द्रजंग शाह, लालबहादुर खड्का, गोविन्द सुनारलगायत १२ जना र ज्यान गुमाएका मृतक नवराज विकलगायत ६ जनाका बाबुरआमालाई १० हजार रुपैयाँका दरले उपचार खर्च तथा सहयोग रकम उपलब्ध गराइएको छ । घाइतेको टाउको, पिठ्यु, ढाड, हात–खुट्टालगायतमा चोटपटक लागेको छ ।
उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालमा सिटी स्क्यान मेसिनलगायत सुविधा नहुँदा घाइतेको उपचारमा समस्या भएको छ । श्रद्धाञ्जली कार्यक्रममा सहभागी भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती, संघर्ष समितिका संयोजक नगेन्द्र शाह, नागरिक अगुवा राजेन्द्रविक्रम शाहलगायतले घाइते र पीडित परिवारलाई सहयोग रकम प्रदान गरे ।
मृतक नवराजका बावु मुनलाल नेपालीले अपराधीलाई जन्मकैदको सजायको माग गरेका छन् । दाताबाट उपलब्ध सहयोग खर्च बुझ्ने क्रममा भावविह्ल बनेका उनले अपराधीले उन्मुक्ति पाए मृतकका आत्माले शान्ति नपाउने बताए ।
घटनामा सोतीगाउँका बासिन्दाले जाजरकोटबाट गएका युवामाथि आक्रमण गर्दा १७ वर्षीया मल्ल थरकी किशोरीका प्रेमी विकसहित जाजरकोटका गणेश बुढा, सन्दिव (सञ्जु) विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको ज्यान गएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।
सोतीगाउँका बासिन्दाले दलित परिवारलाई ठकुरीकी छोरी नदिने भन्दै आक्रमण गरेको पीडित परिवारको आरोप छ । सोती घटनामा संलग्न भएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्लसहित २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।










