सोती घटनामा जाहेरी परेका सबै पक्राउ

रुकुम पश्चिम ः प्रहरीले सोती घटनामा संलग्न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८ सोतीका घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन छन् ।
बुधबार पक्राउ परेका तीनै जनालाई राति नै जिल्ला ल्याइएको प्रहरीले जनाएको छ । घमण्ड र विष्णुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । यसअघि दुवै जना फरार सूचीमा थिए । सविन भने थपमा पक्राउ परेका हुन् । पीडित परिवारले २० जनाविरुद्ध जाहेरी हालेको छ । घमण्ड र विष्णुसँगै कर्तव्य ज्यानमा जाहेरी परेका सबै पक्राउ परेको प्रहरीले जनाएको छ ।
जाहेरी परेका र अन्य ८ गरी उक्त घटनामा संलग्न आरोपमा २८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । अनुसन्धानको क्रममा संलग्नता देखिएपछि अरू ८ जनालाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।
सोती गाउँकी १७ वर्षीया मल्ल थरकी एक युवतीको अन्तरजातीय प्रेमसम्बन्धलाई लिएर जेठ १० गते घटना भएको थियो । युवतीलाई लिन साथीहरूसहित आएका नवराज विकलगायतमाथि स्थानीयले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो ।










