फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक

हेमन्त केसी
जाजरकोट , भर्खरै हुँर्कदै गरेको मकैबालीमा फौजी किराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधि सहितको कृषि प्राविधिक खटाइको छ ।
जिल्लाको शिवालय गाउँपालिकाले औषधि सहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषकहरु खुसी भएका छन् । कोरोना भाईरसका कारण समस्यामा परेको बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुसी भएको शिवालय गाउँपालिका –३ का कृषक लालबहादुर थापाले बताउनुभयो । गाउँपालिका भरी फौजी किराले मकै सखाप पारेपछि कृषकहरु हैरान भएको उहाँँले बताउनुभयो । अहिले प्राविधिकहरु गाउँ , गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताउनुभयो ।
गाउँपालिका भित्र रोपिएका मकैमा कहाँ , कहाँ फौजी किराले मकैको बोट काटेको छ , त्यहाँबाट सिधा गाउँपालिकामा सम्पर्क गर्न समेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिन्नुभयो । फौजीकिरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजीकिरा नियन्त्रण तथा ब्यबस्थापन कोष स्थापना गरेको छ । सोही कोष मार्फत कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले भन्नुभयो , “ अध्यक्ष लगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीहरुको दिएको सूचनाका आधारमा हामी विषाधी र स्प्रे टंकी बोकेर गाउँ , गाउँमा रहेका खेतबारीमा पुग्छौँ । ” गाउँपालिका भित्र रहेका कृषि जेटिए पढेर बस्नु भएका आन्तरिक जनशक्तिलाई दैनिक रु ५०० रुपैयाँ दिएर फौजीकिरा नियन्त्रणका लागि खटाउने काम भएको छ अधिकृत शर्माले भन्नुभयो ।
पहिलो चरणमा रु २ लाख ५० हजार कोष स्थापना गरेर फौजीकिरा नियन्त्रणको काम भएको समेत उहाँले जानकारी दिनुभयो । शिवालय गाउँपालिकामा मकै सवै भन्दा बढी उत्पादन हुँने अन्न मध्यमा पर्दछ । करिव १८ हजार जनसंख्य भएको गाउँपालिकामा २ हजार ४ सय ९२ घरधुरी रहेको छ । सिँचाई क्षेत्र कम भएको यहाँ आकाशे पानीको भरमा वर्षेनी खेती हुँदै आएको छ । 
शिवालय गाउँपालिका जिल्लाको पश्चिम भागमा रहेको छ । साविकका ३ वटा गाविसहरु सिमा, थालारैकर र जुंगाथापाचौर मिलेर शिवालय गाउँपालिका बनाएको हो ।
स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत,साधन, पर्यटनको प्रचुर संभावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो । जिल्लाको कुल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटर मध्य १३४.२६ अर्थात १२५ भु भाग शिवालय गाउँपालिकाले ओगटेको छ। यातायातको हिसावले भर्खर मात्र यो गाउँपालिकामा मौसमी यातायात संचालन हुने गरी वाटो निर्माण कार्य भइरहेको छ। तस्वीर पनि छ ।








