रुकुम घटना ः आरोपितलाई थप दश दिन थुनामा राख्न म्याद थप

रु
कुम पश्चिम ः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गतेका दिन भएको घटनामा पक्राउ परेका चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित १८ जनालाई १० दिन थुनामा राख्न जिल्ला अदालत रुकुम पश्चिमले अनुमति प्रदान गरेको छ।
प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए ।अदालतले उनीहरुलाई घटनामा संलग्नको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो।
उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका परिवारले दिएको किटानी जाहेरीको आधारमा सोती घटनामा संलग्न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्य २ जना अझै फरार छन् ।
जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।










