शे–फोक्सुण्डो निकुञ्जद्वारा १७ थान भरुवा बन्दुक बरामद

डोल्पा ः डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा बन्दुक र एक थान नाल बरामद गरेको छ ।

निकुञ्ज क्षेत्रभित्र हुने संरक्षित एवं दुर्लभ वन्यजन्तुको चोरी–सिकारी रोक्न अप्रेसन नै चलाएर हातहतियार खोजी गर्न सुरु गरेपछि १७ थान भरुवा बन्दुक, एक थान नाल बेवारिसे अवस्थामा बरामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करेलीकाँडा छल र ठूलीभेरी नगरपालिकाको साङ्टालगायतका ठाउँबाट बेवारिसे अवस्थामा बन्दुक र नाल बरामद भएको हो ।

सेना र कर्मचारीसहितको गस्ती टोलीले यसअघि पनि २० थान भरुवा बन्दुक, एक नाल, तीन थान घोरलका छाला बरामद गरिसकेको छ । सबै गरेर ३७ थान भरुवा बन्दुक, तीन थान घोरलका छाला र दुईवटा नाल बरामद भइसकेको र खोजी कार्य जारी रहेको संरक्षण अधिकृत पौडेलले बताए । बरामद भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगाडमा राखिएको छ ।

निकुञ्जले हातहतियार बुझाउन सूचना जारी गर्दै आएपछि स्थानीयले पक्राउ पर्ने त्रासले घरदेखि टाढा लगेर बेवारिसे अवस्थामा फालेको हुने सक्ने उनको भनाइ छ । बेवारिसे फेला परेका भरुवा बन्दुक क–कसका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको पनि निकुञ्जले जनाएको छ । निकुञ्जले निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोवास गर्ने सबैलाई आफूसँग भएका हातहतियारहरू बुझाउन सूचनासमेत जारी गरेको छ ।

निकुञ्जमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुहरू र सम्पूर्ण वनपैदावारको चोरी–तस्करी रोक्न निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको ईश्वरी बक्स गुल्म खटिएको छ । छोटो समयमै ठूलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला बरामद हुनु निकुञ्जका लागि ठूलो सफलता भएको गुल्मपति लेखनाथ कटवालले बताए । शे–फोक्सुण्डो निकुञ्जमा दुर्लभ वन्यजन्तु हिउँ चितुवासमेत पाइन्छ ।





error: Content is protected !!