कोरोनाको त्रास सँगै थकित शरीर , रातभरीको यात्रा

हेमन्त केसी
जाजरकोट ः राती १ः३२ बजेको समय ! ६० भन्दा बढी सर्वसाधारणहरुको ठुलो समुह , एकाएक सडकमा देखा पर्छ ? दायाँ , बायाँ भेरी नदीको सुसावट र खाली सडकमा त्यो ठुलो मानिसहरुको समुहले आज भोली दैनिक राती भर कब्जा जमाउने गर्दछ ।

उनीहरुको त्यो रहर नभई बाध्यता बन्दै आएको छ । कोरोना भाईरसको त्रासले संसार यूद्धमा होमिएको समयमा भारतमा कमाई गर्न गएका जाजरकोट , रुकुम पश्चिम र डोल्पाका सर्वसाधारणहरु अहिले थाकथलो फर्कने क्रममा हप्तौ हिड्नु परेको छ । केही स्थानीय तहले यातायातको व्यवस्था गरेपनि त्यो गाउँ सम्मा सवारीसाधन नपुग्दा भारत तथा देशका ठाउँमा काम गर्ने मजदुरहरु तीन हप्ता सम्मा हिडेर आउनु परेको पीडा उनीहरु सुनाउँछन् ।
दिनमा चर्को धुममा गर्मीका कारण हिड्न असहज हुँने भएको रातभरी हिड्न बाध्य भएको जुनिचाँदे गाउँपालिका –४ का दलबीर नेपालले बताउनुभयो । उहाँले भन्नुभयो , “ अर्काको भूमिमा मर्नु भन्दा बरु आफ्नै भूमिमा ज्यान गए आफन्तले त देख्लान ? हामीलाई कसैले आउन देवस , वा नदेवस हामीलाई मतलव भएन ? हाम्रो आत्मले जे गरेर पाएपनि घर पुग भनेपछि दिनरात गरेर हिडिरहेका छौँ ।”

गाउँमा गएर हामी क्वारेन्टाईनमै बस्ने भन्दै अर्का गोर्खे नेपालीले भन्नुभयो , “ केही व्यक्तिले बदमासी गरे भन्दैमा हामीलाई पनि सोही रुपमा हेर्नु भएन । हामीलाई पनि आफू बाँच्ने र अरुलाई बचाउने विवेक छ । ” अर्काको भूमिका छ्या, छ्या ,दुर दुर गदै कति दिन बस्ने ? आजभोली नेपाली भन्न वितिकै भारतीय पक्षले हेप्न सुरु गरेका छन् अर्का रामबहादुर रावतले भन्नुभयो । उहाँले आँखाबाट आँसु खसाल्दै भन्नुभयो , “ कसलाइ रहर हुन्छ आधा महिना हिडेर आउन ? तपाई आफै भन्नुहोस न हाम्रो शरीर कस्तो भएको छ , हामीले कति दिन भोकै हिहिरेका छौँ । यो रहर छ ? ”
जाजरकोट हुँदै जाने डोल्पा र रुकुम पश्चिमका सर्वसाधारणहरु रात दिन हिडेर घर पुग्ने योजनाका साथ हिडेर आएको बताउँछन् । यि तीन जिल्लाका सर्वसाधारणहरुले जीवन जिउने मुख्य आधार नै भारत गएर कमाई ल्याएको पैसा हो । आफ्नो जमिनमा प्रयाप्त उत्पादन नहुँने र दुख अनुसारको फल समेत हात नपर्दा अर्काको भूमिमा गएर पसिना चुहाएर काम गरी ल्याएको पैसाले घर धान्ने यहाँका सर्वसाधारणहरुको वषौदेखिको निरन्तरको प्रक्रिया हो ।

स्थानीय सरकारले निर्माण गर्ने सडक , अन्य निर्माणको काममा डोजर प्रयोग हुँदा काम बिहिन भएको उनीहरुको भनाई छ । मंगलबार विहान मध्यरात १ ः ३२ बजेको समयमा जिल्लाको जुनिचाँदे गाउँपालिकाबाट कोरोना जाँच गरेर फर्कदै गरेको स्वास्थ्य सेवा कार्यालयका चिकित्सक र पत्रकारको समुहले बिभिन्न गन्तव्यमा भारी बोक्दै बालबच्चा च्यापेर हिडिरहेको भारी मानिसहरुको हुल देख्दा भावुक भएका डाक्टर भुपेन्द्रप्रकास मल्लले भन्नुभयो , “ हाम्रो काम गर्ने तरिका र कार्यशैलीले गर्दा हाम्रो गरिव जनताले यसरी दुख पाउनु परेको छ । यसमा किन शासकहरुको मन दुख्दैन । ”

अहिले गाउँमा विदेशी भूमिबाट आएका र स्थानीय जनप्रतिनिधिहरुको बीचमा विवाद हुँदै आएको छ । हामीलाई काम पनि नदिने ? क्वारेन्टाईनमा ल्याएर राख्ने तर जाँच कार्य कहिले गर्ने हो ठेगान पनि नहुँने भन्दै उनीहरु आक्रोषित भएका छन् । गाउँ , गाउँमा बिभिन्न पद्धतीबाट हुँने कोरोना जाँच कार्य सुरुमा जनप्रतिनिधि र कर्मचारीलाई गर्दा थप समस्य चुलिएको छ । क्वारेन्टाईन निर्माण गर्दा मापदण्ड पुरा नगरी बनाउदा भेडा,बाख्रा हुल्ने खोर झै गरेर राखेको उनीहरुको आरोप छ ।
सिमानामा प्रतिनिधि नखटिने गाउँ , गाउँमा मानिसहरु

यातायातका साधनहरुमा आएका अधिकांश सर्वसाधारणहरुलाई सिमाना छोड्दा अलपत्र पार्ने काम हुँदै आएको छ । जाजरकोट र सुर्खेतको सिमाना छेडाचौरमा जथाभावी मानिसहरु छाडेर जाँदा हैरान भएको प्रहरीले बताएको छ । मानिसहरुको भीड समेत नियन्त्रण लिन समस्य हुँदै आएको छ । व्यक्तिगत सुरक्षा सामग्री नहुँदा मानिसहरुको भीड नियन्त्रणमा लिन समस्य भएको हो । सवै पालिकाले १÷१ जनाको दरले कर्मचारी खटाएको भए काम गर्न सहज हुँने प्रहरीको भनाई छ ।










