अनुमती विना निकुन्ज हेलिकोप्टर ः बर्षेनी हेलिकोप्टरबाटै ओसारिन्छ चोरीको सामग्री ?

डोल्पा ः बर्षेनी डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जमा जथाभावी हेलिकोप्टर कम्पनीको आवतजावत गर्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । निकुन्जको नियम समेत मिच्दै अनुमतिबिना निजी कम्पनीका हेलिकोप्टरहरु संरक्षित क्षेत्रमा निर्वाध आवतजावत गर्न थालेपछि संरक्षणमा चुनौती बढेको हो ।


निकुन्जका अनुसार नागरिक उद्धार, यात्रु र खाद्यसामग्री ढुवानी गर्ने निहुँमा निकुञ्ज क्षेत्रमा मनपरी रुपमा हेलिकोप्टर उडाउनाले संरक्षित जडीबुटी, दुर्लभ वन्यजन्तु र गुम्बाहरुमा राखिएका बहुमूल्य मुर्ति संरक्षणमा चुनौती देखा परेको छ । विरामी , गर्भवती तथा अन्य प्रयोजनका लागि अनुमती विना डोल्पा स्थित निकुन्ज क्षेत्रमा महिनामा एक दर्जन भन्दा बढी उडान हुँदै आएका छन् ।
यहाँ बर्षेनी सिम्रिक, माउन्टेन डाइनेष्टी, कैलाश र मनाङ्ग एयर लगायतका निजी हेलिकोप्टर कम्पनीले निकुञ्ज क्षेत्रमा जथाभावी उडान गर्ने गरेको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार निकुज्ज स्थापना काल देखि हाल सम्मा हेलिकोप्टरहरुमा मानिसहरु आवतजावत गर्ने र आफ्नो व्यापार गरेर हेलिमै फर्कने गरेका छन् । वर्षेनी नियन्त्रणका लागि पटक , पटक कुरा उठेपनि नियमणको काम हुँन सकेको छैन ।
निकुञ्ज जस्तो संवेदनशील क्षेत्रमा यसरी मनोमानी आवतजावत गर्ने हेलिकोप्टर कम्पनीले दुर्लभ वन्यजन्तुको आखेटोपहार, बहुमूल्य जडीबुटी, निकुञ्ज क्षेत्रमा रहेका बहुमूल्य मूर्ति लगायत सामान अवैधरुपमा ओसारपसार हुने अवस्था देखिएको निकुञ्जका संरक्षण अधिकृत पौडेलले भन्नुभयो ।
२०४० सालमा स्थापना भएको शे फोक्सुण्डो निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, संरक्षित वन्यजन्तु नावर, घोरल लगायतका वन्जन्तुको पाइने मुख्य बासस्थान हो। बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने सत्तरी प्रतिशत यार्सागुम्बा पाटाहरु पनि निकुञ्ज क्षेत्र भित्रै पर्दछन्।


शे फोक्सुण्डो निकुञ्ज रामसार सूचीमा पनि सूचीकृत भइसकेको छ। निकुञ्ज क्षेत्रमा एक पटक हेलिकोप्टर ल्याण्ड गर्दा तीन हजार रुपैयाँ राजश्व तिर्नुपर्ने कानुनी व्यवस्था छ। सिम्रिकको हेलिकोप्टरमा गत बिहीबार वन्यजन्तुको सुकुटी फेला परेको थियो । दुनैमा प्रहरीलाई जाँच गराएर हेलिकोप्टर उपल्लो डोल्पाको साल्दाङ्ग उडेको थियो । दुनैमा रहेको हेलिप्याड पनि शे फोक्सुण्डो निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रमा अवतरण गर्ने हेलिकोप्टरलाई आउँदाजाँदा निकुञ्जका कर्मचारी र नेपाली सेनाले जाँच गराएर मात्र उड्नुपर्ने कानुनी व्यवस्था छ।
त्यतिमात्रै नभई निकुञ्ज क्षेत्रमा हेलिकोप्टर अवतरण गर्नुपूर्व अनुमति लिनुका साथै निकुञ्जका एकजना कर्मचारीसँगै लिएर जानुपर्ने व्यवस्था पनि छ।
निकुञ्जमा जथाभावी हेलिकोप्टर उडाउने सिम्रिक एयरको हेलिकोप्टरका चालकलाई निकुन्जले बोलाएको समयमा आउने सहमती समेत भएको छ । हेलिकोप्टरसहित जुनसुकै अवस्थामा उपस्थित हुने गरि कागज गरेर छोडिएको निकुन्जले बताएको छ ।
निकुञ्ज क्षेत्रबाट उडेको हेलिकोप्टरमा संरक्षित वन्यजन्तुको जस्तो सुकुटी भेटिएपछि निकुन्जले हेलिकोप्टर कम्पनीको उडानलाई चाँसो दिएको छ । शनिबार बरामद मासु प्रमाणित गर्न लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ।
हेलिकोप्टरमा संरक्षित वन्यजन्तुको जस्तो मासु भेटिएपछि अनुसन्धानमा आफूहरुले पनि सघाउने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताउनुभयो । सिम्रिक एयरको हेलिकोप्टरले मासु ल्याएको घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । वन्यजन्तु र वन पैदावर संरक्षण गर्नु सबैको दायित्व भएकाले निकुञ्ज क्षेत्रमा हेलिकोप्टरले मनपरि गर्न नहुने उहाँले बताउनुभयो ।
राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको मासु ठहरिएमा पाँचदेखि १५ वर्षसम्म जेल र हेलिकोप्टर नै जफत हुन सक्ने व्यवस्था रहेको छ । बर्षेनी यहाँ जथाभावी हेलिकोप्टर उडेपनि नियमनकारी निकायले चाँसो नदिदा समस्या भईरहेको छ । सुरक्षा निकाय , निकुन्ज र प्रशासन कार्यालयले चाँसो दिएर निकुन्जमा भईरहेको जथाभावी कार्य रोक्नुपर्ने आवाज व्यापक उठेको छ ।





error: Content is protected !!