क्वारेन्टाईन बनाएको भन्दै शिक्षक तथा स्थानीयले विद्यालय भत्काए

जाजरकोट , भारतवाट आएका स्थानीयहरुलाइ विद्यालयको भवनमा राख्न लागेको भन्दै गाउँका शिक्षक तथा स्थानीयले विद्यालय नै भत्काइदिएका छन् ।
कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णय अनुसार भारत लगाएतका मुलुकवाट उद्धार गरि ल्याइएकाहरुलाइ विद्यालयमा क्वारेन्टाइन बनाएपछि भेरी नगरपालिकको वडा नम्वर ६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालयको भवन भत्काएको हो ।
भारत लगाएतका मुलुकवाट उद्धार गरि ल्याइएका स्थानीयहरुलाइ राख्न लागेको भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयवहादुर शाही लगाएतका केहि स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडाध्यक्ष शसी वुढाले बताउनुभयो । क्वारेन्टाइनको लागि गरिएको व्यवस्थापनका सवै सामग्री फालेर विद्यालय भत्काइदिएको उनले बताए ।
मानिसहरुको वस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हात हतियार सहित आएर विद्यालय छानो र पर्खाल सवै भत्काइदिएको बताए ।अधिकांश गाउँलेहरुको सहमती, वडा स्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशन अनुसार आफूहरुले उक्त विद्यालयलाइ क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयहरुलाइ राख्न खोज्दा शिक्षक शाही, स्थानीयहरु नैनवहादुर वली, डम्वर वली, ललिता वली, गम्वर वली र वले घर्ती लगाएतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या आएको वडाध्यक्ष वुढाले बताए ।
विद्यालय भवन भत्किएपछि आफूहरुलाइ भारतवाट आएकाहरुलाइ व्यवस्थापन गर्न समस्या परेको उनले बताए । विद्यालय वरिपरि घरहरु नभएपनि उनीहरुले अवरोध गरेको वडाध्यक्ष वुढाको भनाइ छ । विद्यालय भत्काएकोवारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाइ ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष वुढाले बताए । यसवारेमा विद्यालय भत्काउने र क्वारेन्टाइन बनाउन प्रयोग भएका सामग्री फाल्ने स्थानीय र शिक्षक शाही संग वुज्न खोज्दा सम्पर्क हुन सकेन ।
यसवारेमा भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र स्थानीय सरकारको असल काममाथि अवरोध पुरयाउने अराजकता देखाउनेमाथि कडा कारवाहि हुने बताए ।
नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारवाहिवाट बच्न नसक्ने बताए । अराजकता फैलाएर समाज भाँड्न खोज्ने र अशान्ति फैलाउन खोज्ने जो भएपनि सजायाको भागी हुने प्रमुख घर्तीले बताए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यसवारेमा आफूले वुज्ने बताए । नगरपालिकाको कार्यक्षेत्र भएकोले यसवारेमा नगरप्रमुखले आवस्यक समन्वय गर्ने उनले जानकारी दिए ।
कोरोना संक्रमणको महामारीका कारण लक डाउनले भारत लगाएतका तेस्रो मुलुकमा रहेका नेपालीहरुलाइ सरकारले उद्धार गरि देश भित्र ल्याउने क्रममा जाजरकोट ल्याइएकाहरुलाइ सदरमुकाम खलंगा लगाएतका विभिन्न स्थानका विद्यालय र सरकारी भवनहरुमा क्वारेन्टाइन बनाएर राख्ने गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार देशवाहिर रहेका ५ हजार वढी जाजरकोटवासीहरु भित्रिने जानकारी दिएका छन् ।





error: Content is protected !!