सोती घटना ः मृतकको संख्य ५ पुग्यो अझै एक वेपता

हेमन्त केसी
जाजरकोट , गत शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ४ खलंगाका १९ बर्षिय सञ्जु विकको शव घटनास्थल देखि करीव ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभिर नजिक भेरी नदीको खोचमा फेला परेको सशस्त्र प्रहरी वल जाजरकोटका प्रमुख योग्य बस्नेतले बताए । स्थानीयले सञ्जुको शव नदीमुनी फेला पारेको र मुचुल्काका लागी प्रहरी घटना स्थल तर्फ गएको डिएस्पी बस्नेतले बताए ।
यो सँगै मृतकको संख्या पाँच पुगेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको थियो ।
केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथी सोतीका स्थानीयले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाँउलेहरुले कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाएका थिए । पीडित पक्षले वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरी १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भैरहेको जनाएको छ ।










