यार्सा पाटनमा प्रहरी , सशस्त्र प्रहरी परिचालन

डोल्पा ः डोल्पाका यार्सा पाटनहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनमा रोक लगाएपछि चोरी हुनबाट रोक्न जिल्लाका सबै यार्सागुम्वा पाटनहरुमा प्रहरी परिचालन गरिएको हो ।

कोरोना भाइरसका कारण पहिलोपटक बन्द गरिएका डोल्पाका यार्सा पाटनरुमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको हो । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसहरुले लुकीछिपी चोरी गर्ने भएकोले रोक्नका लागि पाटनमै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको क्याम्प राखिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिउनुभयो ।

जिल्लामा रहेका डिभिजन वन कार्यालय अन्तरर्गतका सामुदायिक वनहरुमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ति क्षेत्रका बनहरुमा नेपाली सेना र निकुञ्जका कर्मचारीहरु परिचालन गरिएको छ ।

सामुदायिक वनमा जगदुल्ला गाँउपालिकामा १०, ठुलीभेरी नगरपालिकाको माझफालमा २० जना, छार्कामा २० जना र काइके गाँउपालिकाको ठाँगेमा १० जना गरी ६० जना शसस्त्र प्रहरी यार्सा पाटनमा पठाएको शसस्त्र प्रहरी बल ४६ नम्बर गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक चेतसिंह थापाले जानकारी दिनुभयो । सामुदायिक वनमा प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिईरहेको समेत उहाँले जानकारी दिनुभयो ।
हामीले स्थानीय सरकार र सामुदायिक वनका प्रतिनिधिहरुसँगको सहकार्यमा यार्सा पाटनको सुरक्षा गर्नेछौँ चोरीका कुनै पनि क्रियाकलापहरु हुने छैनन् किनकी स्थानीयले साथ दिएका छन् उहाँले भन्नुभयो ।

त्यसै गरी नेपाल प्रहरीले पनि आफ्नो टोली यार्सा पाटनहरुमा परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । डिएसपी रञ्जितकारले जिल्लाको माझफालमा १४, जगदुल्लामा ११ जना, ठागेमा १० जना, नावरपानिमा १० जना, छार्काको तालपाटनमा १० जना गरी ५० जना प्रहरी सम्बन्धित क्षेत्रमा पुगिसकेको बताउनुभयो । अन्य चौकीमा पनि प्रहरी पुगेकोले यार्सा पाटनको सुरक्षामा कुनै कमि नभएको दावी गरे ।

अघिल्ला वर्षहरुमा जेष्ठको १० गतेपछि जिल्लाका सबै यार्सा पाटनहरु खुला गर्ने गरिएको भए पनि यस वर्ष भने कोरोना भाइरसको कारण जिल्लाका सबै पाटन बन्द गरिएकोले प्रहरी नेपाली सेना र स्थानीयको पहलमा यार्सा पाटनहरु चोरी गर्नबाट जोगाइरहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका सबै पाटनहरुमा एक साता पहिलेदेखि नै नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको र थप सुरक्षा ब्यवस्था बढाइ रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो ।

डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ति क्षेत्रका वन र डिभिजन वनकार्यालय अन्तरगतका सामुदायिक वनगरी दुई किसिमका वनमा यार्सागुम्बा पाइने गर्दछ ।





error: Content is protected !!