मान्छे ल्याउने सेन्टिमेन्टमा देशै सोत्तर बनाउने गरी विदेशबाट ह्वारह्वारी नागरिक ल्याउँदैनौँ ः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली स्वदेश ल्याउन सरकारले विचार गरिरहेको बताएका छन् । तर, विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने नाममा भावनामा बगेर ह्वारह्वारी नल्याउने उनले स्पष्ट पारे ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धेरै नेपाली रहेका देशहरूका निकायसँग संवाद भइरहेकाले तत्काल सबैलाई स्वदेश नल्याउने जनाए ।
उनले नेपालभित्र रहेका नागरिकको सुरक्षालाई ध्यान दिँदै विदेशबाट ल्याउने विषयमा आवश्यक कदम चाल्नेबारे सरकारले ध्यान दिने बताए ।
‘मान्छे ल्याउने सेन्टिमेन्टमा ह्वारह्वारी ल्याउने र देशै सोत्तर बनाउनेमा सरकार छैन,’ उनले भने, ‘देशभित्रका नागरिकको सुरक्षित रहने प्रबन्ध गरेर ल्याउने हो । सरकार यसबारे क्रियाशील छ, दृढ र स्पष्ट छ ।’










