पत्रकार छात्रवृत्ति कार्यान्वयनार्थ समझदारी

सुर्खेत ः कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मन्त्रालयको चालु आव २०७६/०७७ को बजेट तथा कार्यक्रमअन्तर्गत आज मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तह पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीको रु पाँच लाखको ‘छात्रवृति प्रदान कार्यक्रम’ कार्यान्वयनका लागि मन्त्रालय र विश्वविद्यालयबीच हस्ताक्षर भएको हो । मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र मप विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा कानूनमन्त्री भण्डारीले कर्णालीका पत्रकारको पत्रकारिता अध्ययनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकार छात्रवृत्ति कार्यक्रम राखिएको बताउनुभयो । “आर्थिक समस्या र विपन्नताका कारण विद्यार्थीको पत्रकारिता अध्ययनमा बिट नलागोस् भनेर हामीले ‘छात्रवृति प्रदान कार्यक्रम’ राखिएको हो” उहाँले भन्नुभयो, “विश्वविद्यालयले आवश्यक मापदण्ड बनाएर यसको न्यायोचित वितरण र पारदर्शितामा ध्यान दिनुपर्दछ ।”

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले आवश्यक मापदण्ड बनाएर विपन्न र प्रतिभावान् विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको यो छात्रवृत्ति कार्यक्रमले विद्यार्थीको अध्ययनमा ऊर्जा र विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्नेछ । यो प्रदान गर्दा पारदर्शितामा विश्वविद्यालय चुक्ने छैन र विद्यार्थीले बीचैमा अध्ययन छाडे वा विदेश गए फिर्ता हुने गरी मापदण्ड तयार हुन्छ ।”

मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले छात्रवृत्ति प्रदान कार्यक्रम कार्यान्वयनका लागि मध्यपश्चिम विश्वविद्यालयले छात्रवृत्तिको मापदण्ड, प्रदान गरेको भर्पाई तथा विवरण, विद्यार्थीले स्नातकोत्तर पूरा गर्न विश्वविद्यालयलाई बुझाएको एकप्रति शोधपत्र मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने शर्त रहेको बताउनुभयो । प्रचलित कानूनबमोजिम लेखापरीक्षण गराई सोको प्रतिवेदनसमेत मन्त्रालयलाई उपलब्ध गर्नुपर्ने शर्तअनुसार विश्वविद्यालयबीच समझदारी भएको बताउँदै उहाँले मन्त्रालयबाट उपलब्ध हुने रु पाँच लाख बजेटबाट प्रतिविद्यार्थीले रु एक लाख छात्रवृत्ति प्राप्त गर्ने जनाउनुभयो ।





error: Content is protected !!