अत्यावश्यकीय वस्तुको अभाव हुन नदिन माग

सुर्खेत ः कोरोना भाइरसको जोखिम हुन कर्णाली प्रदेश सरकारले नाका सिल (बन्द) गरेपछि यहाँ अत्यावश्यकीय वस्तुको ढुवानी ठप्प भएको छ । प्रदेश भित्रिने सबै नाका बन्द गरेपछि यहाँ खाना पकाउने ग्यास, औषधि ढुवानी तथा एम्बुलेन्स आवागमन समेत ठप्प भएको हो ।

कर्णाली प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ बजेदेखि नाका सिल गरेको थियो । सरकारले एक साताका लागि नाका बन्द गरे पनि अर्को निर्णय नहुञ्जेलसम्म यथावत् राखिएको छ । यसले गर्दा सुर्खेत उपत्यकामा खाना पकाउने ग्यास र केही औषधिको अभाव देखिन थालेको बताइएको छ । ग्यास ढुवानीका लागि तयारी अवस्थामा राखिएका सिलिन्डर विभिन्न ठाउँ–ठाउँमा रोकिन पुगेका छन् भने व्यवसायीले आवश्यक औषधि आपूर्ति गर्न सकेका छैनन् ।

प्रदेश सरकारले नाका सिल गरेर अत्यावश्यकीय सामानको ढुवानीमा अवरोध सिर्जना गरेको भन्दै व्यवसायीले आपत्ति जनाउँदै आएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले ग्यास ढुवानीजस्तो अत्यावश्यकीय ढुवानीमा प्रदेश सरकारले रोक लगाउनु गलत भएको बताउनुभयो । “ग्यासको समस्या हुने अवस्था आइसक्यो, कोरोनाको जोखिम हुन नदिन यहाँ नाका सिल गरिएको छ”, उहाँले भन्नुभयो, “सतर्कताका अन्य उपाय हुँदाहुँदै अचानक नाका सिल गरिँदा ढुवानीका गाडी बाटोमै अलपत्र परेका छन् ।”

त्यस्तै, औषधि व्यवसायी सङ्घले पनि नाकाबन्दका कारण एक सातादेखि नेपालगञ्जबाट औषधि ढुवानी हुन नसकेको जनाएको छ । ग्यास, औषधि ढुवानी तथा एम्बुलेन्स आवागमनमा रोक लगाएपछि नागरिकस्तरमा प्रदेश सरकारको आलोचना भएको छ । “एम्बुलेन्स रोकेर बिरामीको बाँच्न पाउने अधिकारको हनन भएको छ, युद्धमा समेत नरोकिने एम्बुलेन्स यतिबेला रोकिएका छन्”, सङ्घका निवर्तमान अध्यक्ष पे्रम भण्डारीले भन्नुभयो, “नाका सिल हुँदा नेपालगञ्जबाट मगाइएको अति महत्वपूर्ण औषधि आउन सकेको छैन ।” मेडिकलमा मधुमेह, मुटुरोगीले सेवन गर्ने औषधि सकिनै लागेको उहाँको भनाइ छ ।

सुर्खेतमा भेरी, राप्ती, मनकामना र रेडियन्स ग्यास खपत हुँदै आएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख दीपकप्रसाद घिमिरेले आठ दिनदेखि ग्यास आपूर्ति रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न जिल्लाबाट ग्यास भर्न पठाइएका झण्डै १० हजार सिलिन्डर सुर्खेतमा रोकिएका छन् । सुर्खेत ल्याउन तयारी अवस्थामा रहेका मनकामना र भेरी ग्यास बोकेका गाडी नेपालगञ्ज र रेडियन्स ग्यास धनगढी तथा राप्ती ग्यास दाङको अमेलियामा रोकिएका छन् ।

हाल सुर्खेतमा भेरी ११, मनकामना १३५, राप्ती ३२ र रेडियन्सका ५० वटा सिलिन्डर मात्र मौज्दात छन् । कर्णालीमा दैनिक करिब एक हजार ५०० सिलिन्डर ग्यास आपूर्ति हुँदै आएको छ ।





error: Content is protected !!