पाँच वर्ष अघि प्रेमविवाह गरेर आएकी विणाको श्रीमाननै बने हत्यारा

जनकपुरधाम । धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं ९ लालभिट्टीका २८ वर्षिय हरि चौहानले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण आफ्नो श्रीमतीको हत्या गरेका छन् । उनले २५ वर्षिया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीले ‘मेरो बहिनीसंग तिम्रो अवैध सम्बन्ध छ जहिले नि ढिलो घर आउँछौ’ भनेर मानसिक यातना दिँदै आएकोले आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेका प्रहरीले जनाएको छ ।

उनले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटीमा बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले ४ दिनपछि उत्खनन् गरेको छ ।

बैशाख १८ गते बिहीबार साँझ करिव साढे पाँच बजेको समयमा विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको शलले बेरेर उसको हत्या गरि शवलाई जंगलमै गाडेको चौहानले प्रहरी समक्ष बयान दिएका छन् ।

हत्या गर्नुअघि नै चौहानले खाडल खनि तयार पारेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘हत्या गर्नुअघि खाडल खनेर तयार बनाएको रहेछ’,इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले भने, ‘विणालाई जंगलमा लगेर हत्या गरि खाडलमा गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’ पेशाले गाडी चालक रहेको चौहानले बैशाख १९ गते बिहान पत्नी हराएको भन्दै प्रहरी समक्ष मौखिक जानकारी गराएका थिए ।

५ वर्षअघि विणासँग अन्तरजातिय विबाह गरेकाले बुवाआमाले घरमा बस्न नदिएपछि ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका उनको करिव एक वर्षदेखि आफ्नो कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम रहेको थिउो ।

खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आईतबार साँझ उत्खनन् गरेको छ । सडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ ।

हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक विणाको ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् ।





error: Content is protected !!