डोल्पामा कडाइ, जिल्लाभर र्‍यापिड टेस्ट

रुकुम पश्चिम ः नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै डोल्पामा विशेष कडाइ गरिएको छ । लकडाउनपछि नेपालगन्जबाट धेरै व्यक्ति भित्रिएको भन्दै स्थानीय प्रशासनले कडाइ गरेको हो ।

अहिले जिल्लाभरि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) चलिरहेको छ । परीक्षणका लागि स्वास्थ्यकर्मीलाई गाउँगाउँमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालयका चिकित्सकको नेतृत्वमा तीन स्वास्थ्यकर्मीको टोली आरडीटीका लागि स्थानीय तहमा खटाइएको हो । जिल्लामा २ सय ४० जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

स्वास्थ्य सेवा कार्यालयले ४ सय ८० आरडीटी किट आएकोमा थप ४ सय मगाइएको जनाइएको छ । यसअघि सुरुमै ५ जनाको पीसीआर गरिएको थियो । ‘नेपालगन्जबाट केही दिनयता जिल्ला भित्रिनेको संख्या बढिरहेको छ,’ प्रजिअ सुनारले भने, ‘जाँचसँगै र जिल्ला भित्रिनेलाई कडाइ गरिरहेका छौं ।’

डोल्पामा भारत तथा अन्य मुलुकबाट आउनको संख्या भने न्यून छ । कोरोनाको त्रास फैलनुअघि विदेशबाट ५ जना मात्रै भित्रिएका छन् । अध्ययनको क्रममा भारतमा रहेका ५ विद्यार्थीबाहेक ३ महिनायता कोही पनि नभित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुलाई २ हप्ता क्वारेन्टाइनमा राखेर घर फर्काइएको थियो कान्पिुरमा खवर छ ।





error: Content is protected !!