निकुञ्ज विभाग महानिर्देशकविहीन, तस्करको बिगबिगी

काठमाडौँ ः लकडाउनले वन्यजन्तु संरक्षणमा कठिनाइ भइरहेका बेला निकुञ्जहरुको व्यवस्थापन गर्ने मुख्य निकाय राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशकविहीन बन्न पुगेको छ । निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र गरी देशभरका २० वटा संरक्षण क्षेत्र कूल भुभागको २३.३९ प्रतिशत को व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको विभाग गोपालप्रकाश भट्टराईले महानिर्देशकबाट अनिवार्य अवकाश पाएपछि रिक्त बनेको हो ।

महानिर्देशकका लागि वन तथा वातावरण मन्त्रालयमा प्रतिस्पर्धी प्रशस्तै सहसचिवहरु भए पनि मन्त्री शक्तिबहादुर बस्नेतले निर्णय गर्नेतिर ध्यान दिएका छैनन् । स्रोतका अनुसार महानिर्देशकका लागि मन्त्रालयका सहसचिवहरु सिन्धुप्रसाद ढुंगाना, महेश्वर ढकाल र यज्ञनाथ दाहाललगायतले चासो दिएका छन् । मन्त्री बस्नेतले भने राम्रा मान्छेको खोजीमा रहेको बताउने गरेका छन् ।
वन मन्त्रालय स्रोतले प्रतिस्पर्धी धेरै भएकाले महानिर्देशक चयनमा मन्त्री अलमिलएको बतायो । मन्त्री बस्नेतले भने केही दिनमा महानिर्देशकको निर्णय गर्ने प्रतिक्रिया दिए । मन्त्री बस्नेतले त्यसो भने पनि उनी यस्ता निर्णयमा जहिल्यै अलमलिने गरेको देखिन्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा सदस्य सचिव रिक्त भएको करिब डेढ वर्ष बिते पनि उनले अझै कसैलाई नियुक्त गरेका छैनन् । उनले मन्त्रालयको जैविक विविधता तथा वातवारण महाशाखा प्रमुख सहसचिव यज्ञनाथ दाहाललाई नै सदस्य सचिवकोसमेत जिम्मेवारी दिएका छन् ।
लकडाउनको मौका छोपेर तराईदेखि हिमालसम्मका निकुञ्ज र संरक्षण क्षेत्रमा तस्करहरुले वन्यजन्तु सिकार गरिरहेका बेला विभाग नेतृत्वविहीन हुन नहुने जानकारहरुको विश्लेषण छ ।
‘सबैतिर चोरी निकासी र तस्करी बढिरहेका बेला विभागले सक्रियता देखाउनुपर्ने बेला हो,’ एक पूर्व महानिर्देशकले भने, ‘विभागको नेतृत्व खाली हुँदा त्यसको सन्देश पनि राम्रो जाँदैन ।’
लकडाउनकै बीचमा पर्सा निकुञ्जको महादेबखोला क्षेत्रमा सेना र तस्करबीच गोली हानाहान भयो भने चितवन निकुञ्जमा तस्करले तीन वटा वयस्क घडियाल गोही, बर्दियामा एक भाले हात्ती, सगरमाथा निकुञ्जमा पासोमा पारेर ६ वटा कस्तूरी मृग मारेका छन् । अन्य निकुञ्जहरुमा पनि साना ठूला चोरीका घटना भइरहेका छन् । यसबीचमा निकुञ्जले हतियार लिएर जंगल छिरेका धेरै व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
यतिबेला विभागमा उपमहानिर्देशक रामचन्द्र कँडेल वरिष्ठताका हिसाबले निमित्त महानिर्देशक छन् । कँडेलले निकुञ्जका प्रमुखहरुसंग भिडियो कल (जुम कल) मार्फत् कोअर्डिनेशन गरिरहेको बताए । ‘लकडाउनपछि वन्यजन्तुतिर धेरैले आँखा लगाएको घटनाक्रमले देखाउँछ,’ कँडेलले भने, ‘२४ घण्टा खटिनुपर्ने कर्मचारीलाई लकडाउनले समस्या सिर्जना गरेको छ, तैपनि जेनतेन काम चलाइरहेका छौं ।’
विभागमा कँडेल र युवराज रेग्मी गरी २ उपमहानिर्देशक छन् । रेग्मीले पनि जेठ पहिलो साता अनिवार्य अवकाश पाउँदैछन् । निकुञ्ज र आरक्षको संरक्षणमा करिब ९ हजारको संख्यामा नेपाली सेना खटिएका छन् । सेनाको वन्यजन्तु निर्देशनालयका प्रमुख शरद ढकाल भने केही दिनदेखि तराईका निकुञ्जहरुको अनुगमनमा निस्किएका छन् ।










