मानिसबाट घरपालुवा जनावरमा कोरोना सर्ने सम्भावना कति ?

रोग नियन्त्रण केन्द्र (सिडिसी)ले गत साता अमेरिकामा दुईवटा घरपालुवा जनावरमा कोरोना भाइरस (कोभिड–१९) देखिएको पुष्टि गर्‍यो । दुईवटा बिरालामा श्वास–प्रश्वासको समस्या देखिएपछि जाँच गर्दा कोरोना संक्रमण पाइयो । त्यसअघि न्युयोर्कको एक चिडियाखानामा रहेको बाघमा पनि कोभिड–१९ पोजिटिभ पाइएको थियो।

अमेरिकन भेटेनरी मेडिकल एसोसिएसनका अनुसार विश्वभर हालसम्म जम्मा दुई बिराला र दुई कुकुरमा मात्र कोरोना संक्रमण देखिएको छ। घरपालुवा जनावरमा जोखिम कम देखिएको एसोसिएसनको भनाइ छ । गत फेब्रुअरी मध्यमा हङकङमा एउटा कुकुरमा कोरोना देखिएको थियो । यो नै घरपालुवा जनावरमा देखिएको पहिलो संक्रमण हो ।

हालसम्मका अध्ययनअनुसार, घरपालुवा जनावरबाट मानिसमा कोरोना भाइरस सरेको कुनै तथ्य भेटिएको छैन । तर, संक्रमित व्यत्तिलले खोक्दा, हाच्छ्युँ गर्दा वा सास फेर्दा हावामा मिसिएको भाइरसबाट जनावरमा कोभिड–१९ सरेको अनुमान गरिएको छ ।

गत फेब्रुअरी मध्यतिर हङकङको एउटा कुकुरमा कोरोना भाइरस देखिएको थियो । यो नै घरपालुवा जनावरमा देखिएको पहिलो संक्रमण हो ।

घरपालुवा जनावरमा संक्रमणको लक्षण मानिसमा जस्तै देखिन्छ भन्ने छैन । जनावरमा फरक खालको लक्षण देखिने वा नदेखिने पनि हुन सक्छ । चिडियाखानामा रहेको बाघमा श्वास–प्रश्वासको समस्या देखिएपछि जाँच गर्दा कोरोना पोजिटिभ पाइएको थियो । तर, जनावरमा कस्ता लक्षण देखिन्छन् भन्ने विषयमा अनुसन्धानकर्ता अझै अनविज्ञ छन् । रोग नियन्त्रण केन्द्र र वर्ल्ड अर्गनाइजेसन फर एनिमल हेल्थले कोरोना संक्रमितले अन्य मानिसजस्तै जनावरसँग पनि अनिवार्य भौतिक दूरी कायम राख्नुपर्ने सिफारिस गरेका छन् । र, महामारी फैलिएका क्षेत्रमा घरपालुवा जनावरको हेरचाहमा पनि उच्च सतर्कता अपनाउन भनिएको छ ।

सन् २००३ मा जनावरमा सार्स कोभिड–२ भाइरस देखिएको थियो । कोभिड–१९ को प्रकृति पनि सार्ससँग मिल्दोजुल्दो भएकाले जनावरबाट मानिसमा सर्न सक्ने अनुमान नगरिएको होइन । तर, यसबारे कुनै तथ्य बाहिर आएको छैन ।

जनावरको रौँमा रहन्छ जीवित

विश्व स्वास्थ्य संगठनका अनुसार, कोभिड–१९ भाइरस हावामा र अन्य वस्तुमा तिनीहरूको प्रकृतिअनुसार केही घन्टा वा दिन जीवित रहन सक्छ । जनावरको भुवा वा रौँमा पनि भाइरस लामो समय जीवित रहन सक्छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनअनुसार, सार्स कोभिड करिब प्लास्टिकमा ७२ घन्टा, स्टिलमा ४८ घन्टा, काठमा २४ घन्टा र तामामा चार घन्टासम्म जीवित रहन्छ । तर, जनावरको शरीरबाहिर भाइरस यति नै समयसम्म बाँच्न सक्छ भन्ने कुनै प्रमाण छैन । हावामा र अन्य वस्तुमा भाइरस रहने हुँदा घरपालुवा जनावरलाई छोएपछि राम्ररी हातमुख सफा गर्न आवश्यक हुन्छ ।





error: Content is protected !!