प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं ः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।
बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरेका हुन् ।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’
अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ । बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुत्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।
नेकपाले बोलायो स्थायी कमिटी बैठक
शनिबार साँझ बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।
माधव नेपालनिवास कोटेश्वरमा शुक्रबार प्रचण्ड र नेपाललाई साक्षी राखेर भएको छलफलमा एक दर्जन स्थायी कमिटी सदस्यहरुले बैठकबाट कोही पनि भाग्न नपाउने र बैठकमा आउँदिनँ भन्न नपाइने दबाव दिएका थिए ।
नेकपा महासचिव विष्णु पौडेलले शनिबार सचिवालय बैठक बस्नुअघि दिएको अन्तरवार्तामा स्थायी कमिटीको आवश्यकताका आधारमा बस्न सक्ने भन्दै अहिले बैठक बसिरहन आवश्यक नरहेको बताएका थिए ।
बैठकअघि महासचिव पौडेलले अनलाइनखबरसँग भनेका थिए ‘स्थायी कमिटीको बैठक आवश्यकताका आधारमा बस्न सकिन्छ । तर, स्थायी कमिटी प्रधानमन्त्री चयन गर्ने वा प्रधानमन्त्री हटाउने निकाय होइन । स्थायी कमिटीको बैठक माग गर्ने साथीहरुले उठाउनुभएको अध्यादेश फिर्ताको विषय सम्बोधन भइसकेको छ । त्यसैले यतिबेला स्थायी कमिटी नबसी नहुने अवस्था पनि छैन ।’
केपी ओली पक्षले स्थायी कमिटीको बैठक टार्न खोज्ने र प्रचण्ड–माधव पक्षले बैठक गराउन खोज्ने रस्साकसीकै वीचमा ओली समूह एक कदम पछाडि हटेको छ । शनिबार सचिवालय बैठक बस्नुपूर्वसम्म ओली पक्षका नेताहरु स्थायी कमिटीको बैठक टार्ने पक्षमा थिए । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड–माधव समूहको बहुमत छ ।










