असिनाले स्याउ खेतीमा क्षति

विजय रावत
जुम्ला (रासस) जुम्लाको पातारासी गाउँपालिकाको लुम, छुमचौर र तल्फी गाउँमा शनिबार परेको असिनाले स्याउमा क्षति पु¥याएको छ ।

स्याउमा सानासाना दाना लागेको समयमा असिना परेकाले सो गाउँको स्याउ उत्पादनमा कमी आउने किसान कृष्ण बोहोराले बताउनुभयो । “विगत वर्षमा स्याउको एउटै बगैँचाबाट रु पाँच लाखभन्दा बढी आम्दानी हुन्थ्यो, यो वर्ष स्याउ लाग्ने समयमा असिना पानीले किसानलाई घाटा पुर्याएको छ”, उहाँले भन्नुभयो । स्याउ बीमा गरेका किसानलाई सहज भए पनि अन्य किसानलाई समस्या भएको उहाँको भनाइ थियो ।

स्याउ मात्र होइन असिनाले तरकारी बालीसमेत नष्ट गरेको छ । तरकारीको पकेट क्षेत्र मानिने पातारासी गाउँपालिकाको वडा नं १ र ४ मा किसानले लगाएको आलु, काँक्रो, फर्सी, प्याज, गोलभँेडा, काउली, गाजर र खुर्सानीलगायतमा असिनाले क्षति पुर्याएको स्थानीयवासी जगत बुढाले बताउनुभयो । असिना पानीले करिब रु एक करोड बराबरको तरकारी तथा स्याउमा क्षति पु¥याएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

जुम्लामा तापक्रम घट्यो

गत वर्षको तुलनामा यो वर्ष जुम्लाको तापक्रम घटिरहेको छ । चिसो भइरहेकाले अहिले पनि यहाँ बाक्लो कपडा लगाउनेदेखि न्यानो गर्ने काम भइरहेको छ । लकडाउनले सबै बन्द भएपछि तापक्रममा गत वर्षभन्दा फरक आएको अनुमान गर्न सकिने बताइएको छ ।

बन्दले यातायातका साधनदेखि सबै काम बन्द भएपछि तापक्रम कम हुँदै आएको अनुमान छ । तिला गाउँपालिका–१ का स्थानीयवासी नर रावतले वैशाख लागिसके पनि चिसो कम नभएको बताउनुभयो ।

अहिले जुम्लाको तापक्रम न्यूनतम सात दशमलव शून्य रहेको जल तथा मौसम विज्ञान विभाग शाखा कार्यालय प्रमुख आसाम पूरा कार्कीले बताउनुभयो । गत वर्ष वैशाख महिनामा जुम्लाको अधिकतम तापक्रम २७ दशमलव छ रहेको थियो तर यस वर्ष २५ दशमलव शून्य भएको तथ्याङ्कले देखाएको छ ।





error: Content is protected !!