सहलकोटमा असिनापानीले तरकारी बालीमा क्षति

सुशीला रेग्मी
रामपुर, (पाल्पा), हावाहुरी सहितको असिनापानीले पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटको भाङ्गबारी र लिन्दीमा तरकारी बालीमा क्षति पुगेको छ । फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।

तरकारीको पकेट क्षेत्र रहेको भाङ्गबारी र लिन्दीमा मात्रै करिव ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ । काक्रा, करेला, गोलभेँडा, सिमि, खुर्सानी जातका तरकारी बाली असिनापानीले नष्ट पारेको छ ।

असिनापानीबाट फल्दै गरेका, फूल लाग्दै गरेका करिव रु आठ लाख बराबरको तरकारी बालीमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइराला बताउनुहुन्छ ।

“तरकारी पकेट क्षेत्रमा नै यस पटकको असिनापानीले क्षति पु¥याएको छ, क्षतिको विवरण तयार पारेर ल्याइएको छ, गाउँपालिकाको कार्यालयमा क्षतिपूर्तिका लागि पेश गर्नेछौँ” कोइरालाले भन्नुभयो ।

व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका यहाँका एक दर्जन कृषकले लगाएका तरकारी बालीमा नोक्सान पुगेको निस्दी २ सहलकोटका कृषि प्राबिधिक उमेश पौडेल बताउनुहुन्छ ।

“कृषकको क्षतिको विवरण सङ्कलन गरेर वडा कार्यालयमा पेश गरिएको छ, तरकारी व्यवसायमा हौसिएका कृषकहरु अहिले असिनापानीले नोक्सान पारेपछि निराश बनेका छन्” उहाँले भन्नुभयो ।

यमबहादुर मश्राङ्गीले आठ रोपनी जग्गामा लगाएको तरकारीमा क्षति असिनापानीले रु चार लाख बराबरको क्षति पुगेको बताउनुहुन्छ । “तरकारी कोही फल्दै गरेको, कोही भर्खरै विरुवा हुर्कदै गरेको थियो, एक्कासी हावाहुरी सहित असिनापानी आएर सखापै बनायो” मश्राङ्गीले भन्नुभयो । काक्रा, गोलभेँडा, सिमि, खुर्सानी जातका तरकारीमा क्षति पुगेपछि क्षतिपूर्ति उपलब्ध गराउन उहाँले माग गर्नुभएको छ ।

सोही ठाउँकै राममाया लामिछानेले स्थायी टनेलमा लगाउनुभएको सिमि, गोलभेँडा लगायतका तरकारीमा क्षति पुगेको छ । टनेलको फलामे डण्डी नै भाचिएपछि समस्या परेको उहाँ बताउनुहुन्छ । “टनेलको डण्डी भाँचिएर प्लाष्टिक सबै च्यातियो, तरकारीमा पनि नोक्सान परेको छ, टनेल काम नलाग्ने अवस्थामा रहेको छ” उहाँले गुनासो पोख्नुभयो । उहाँको टिप्ने बेला भएको चौमासे सिमि, गोलभेँडामा नोक्सानी पुगेको छ ।

प्रदेश सरकारको सहयोगमा दश वटा तरकारी टनेल निर्माण गरिएको छ । जलदेवी सामाजिक महिला उद्यमी सहकारीमार्फत प्रदेश नं ५ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ८० प्रतिशत अनुदानमा सहयोगमा दश वटा स्थायी टनेलमा तरकारी खेती गरिएको छ ।

यसैगरी रामपुर नगरपालिकामा क्षेत्रमा लगाइएका तरकारी बालीमा असिनापानीले क्षति पु¥याएको छ । असिनापानीका कारण फल लाग्न थालेका करिव दुई रोपनी क्षेत्रमा लगाएका गोलभेँडा पुरै नष्ट भएको कृषक सूर्यप्रसाद रेग्मी बताउनुहुन्छ । जिल्लाका अन्य स्थानीय तहमा पनि असिनापानीले तरकारी बाली बढी क्षति पुगेको कृषकहरु बताउँछन्





error: Content is protected !!