भरोसा बटुल्दै डोल्पा स्वास्थ्य कार्यालय – अब स्वास्थ्य सेवामै शल्यक्रियासहितको प्रसूति सेवा

डोल्पा ः स्वास्थ्य सेवा कार्यालय डोल्पाले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि सेवा कार्यालयमा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्ति गरेर शल्यक्रियासहितको प्रसुति सेवा शुरु गरेपछि सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको हो ।

जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले विकट गाउँबस्तीबाट सुत्केरी गराउन आउने गरेका हुन् । अस्पतालले भरपर्दो सेवा सुविधा दिन थालेपछि सुरक्षित सुत्केरी गराउनकै लागि नेपालगञ्ज, काठमाडौँ, सुर्खेतलगायतका जिल्ला बाहिरका शहरमा जानुपर्ने अवस्था हटेको छ ।

मङ्सिरयता मात्रै ज्यानै जोखिममा परेका आठ गर्भवतीको सफल शल्यक्रिया गर्न सफल भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक शङ्करप्रसाद राउतले जानकारी दिनुभयो । एसएनसीयू र आइसीयूमा राख्नुपर्ने अवस्थामा मात्रै सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको उहाँको भनाइ छ ।

“पेटमा उल्टो बच्चा भएको, बच्चा खेल्ने पानी सुकेका, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेका लगायत जटिल प्रकारको शल्यक्रिया पनि सफल रुपमा गरेका छाँै”, डा राउतले भन्नुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली नआउँदा दुई वर्षसम्म डोल्पा स्वास्थ्य सेवा कार्यालयले सम्पूर्ण शल्यक्रिया सेवा ठप्प भएको थियो ।

पहिलाको भन्दा स्वास्थ्य सेवा कार्यालयले प्रसूति सेवा धेरै राम्रो हुँदै गएको सुत्केरी हुन स्वास्थ्य सेवा कार्यालय पुग्नुभएकी मनिषा रोकायले बताउनुभयो । सुरक्षित प्रसूति सेवा नपाएर अकालमा ज्यान गुमाउँदै आएका ग्रामीण महिलालाई विशेषज्ञ सेवा दिएर ज्यानसँगै जिल्ला बाहिर लैजाँदा लाग्ने लाखौँ रकम जोगिएको अस्पताल प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो ।

ग्रामीण भेगका महिलामा चेतना बड्दै गएकाले सुरक्षित सुत्केरी गराउनका लागि अस्पताल आउनेको सङ्ख्या बड्दै गएको डा मेलिना हमालले बताउनुभयो । चालू आवमा मात्रै ७० भन्दा धेरैको सुरक्षित सुत्केरी र आठको शल्यक्रियाबाट सुत्केरी गराएको उहाँले जानकारी दिनुभयो ।

कतिपय महिला नियमित स्वास्थ्य जाँचबिना नै एकैपटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिलेकाहीँ समस्या हुने हमालको भनाइ छ । सेवा कार्यालयमा ब्लड बैंकको व्यवस्था नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा मान्छे खोजेर रगत दिन लगाउनुपर्ने अवस्था रहेको चिकित्सकहरुले गुनासो गरे ।

दुनै बजारदेखि सेवा कार्यालयमा पुग्ने बाटो घुमाउँरो र साँघुरो हुँदा बिरामी ल्याउन लैजान एकदमै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जटिल प्रकृतिको बिरामी भएमा घुमाउँरो बाटो हुँदै स्वास्थ्य सेवा कार्यालयमा पु¥याउँदासम्म बिरामिको ज्यानसमेत जान सक्ने खतरा रहेकाले सिधैँ सेवा कार्यालय जोड्ने एक बेलिब्रिज पुलको टड्कारो अवाश्यकता रहेको स्वास्थ्यले जनाएको छ ।





error: Content is protected !!