कर्णालीमा सुरु भयो टेलिमेडिसिन सेवा

चाँदनी कठायत
सुर्खेत , रेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा सोमबारदेखि टेलिमेडिसिन (दुर–चिकित्सा) सेवाको सुरुवात गरिएको छ।

दुर्गम भेगका नागरिकमा देखापरेका जटिल समस्याको पहिचान गरी विशेषज्ञ चिकित्सकमार्फत उपचारमा सहयोग पुर्‍याउन टेलिमेडिसिन सुरु गरिएको हो। कर्णालीका विभिन्न ठाउँमा रहेका बिरामीलाई प्रदेश अस्पतालका चिकित्सक वा स्वास्थ्यकर्मीले उपचारका लागि टेलिमेडिसिनमार्फत परामर्श दिनेछन्।

सामाजिक विकास मन्त्रालयको सहयोगमा सेवा सुरु गरिएको हो। सामाजिक विकासमन्त्री दल रावलले दुर्गम भेगलाई लक्षित गरी सेवा सुरु गरिएको बताए। टेलिमेडिसिनको माध्यमबाट बिरामीको उपचारका साथै अर्को ठाउँमा रहेका बिरामीको शल्यक्रियासमेत गर्न सकिने उनको भनाइ छ।

प्रदेश अस्पतालमा रहेको टेलिमेडिसिन कक्षमा बसेर भिडियोमार्फत दुर्गमका स्वास्थ्यकर्मीलाई विशेषज्ञ चिकित्सकले परामर्श दिनेछन्। यसले जटिल बिरामीको कसरी उपचार गर्ने भन्नेमा सहयोग पुग्नेछ। कोभिड–१९ को जोखिमले सबैलाई व्यस्त बनाएको अवस्थामा पनि हालसम्म चार जना बिरामीलाई विशेषज्ञ सेवा प्रदान गरी रिफर गर्न सल्लाह दिइएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा। डम्बर खड्काले कोभिड संक्रमणको बेला टेलिमेडिसिन सेवा अझ प्रभावकारी हुने बताए। ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पुगेका बिरामीको भिडियोमार्फत लक्षण तथा चिह्न हेरेर स्वास्थ्यकर्मीलाई उचित परामर्श दिइने भएकोले रोग निदानमा सहज हुने उनको भनाइ छ।

‘कर्णालीजस्तो विशेषज्ञ चिकित्सक अभाव रहेको ठाउँमा यो सेवा निकै प्रभावकारी हुने हाम्रा अपेक्षा छ,’ उनले भने, ‘यसबाट विकट क्षेत्रमा बसेरै पनि बिरामीले सहरको विशेषज्ञ सेवा पाउनेछन्।’ सामाजिक विकास मन्त्रालयले दुर्गमका स्वास्थ्यकर्मीलाई आइप्याड र नेट सुविधा उपलब्ध गराएपछि सबै स्वास्थ्य संस्थामा टेलिमेडिसिन सुरु हुने उनले बताए।





error: Content is protected !!