रुकुम पश्चिमका स्थानीय तह अलपत्र मजदुरको उद्धार गर्दै

रुकुम पश्चिम ः रुकुम पश्चिमका स्थानीय तहले रोजगारीका लागि देशका विभिन्न जिल्लामा गएका मजदुरको उद्धार गर्दै छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण अलपत्र परेका मजदुरको स्थानीय तहले उद्धार गर्ने भएका हुन् । जिल्लाका ६ वटा स्थानीय तहले झन्डै एक हजार मजदुरको उद्धार गर्न लागेका छन् । अलपत्र परेका मजदुरको उद्धारका लागि जिल्लाका पाँचवटा स्थानीय तहले गाडी पठाएका छन् भने एउटा स्थानीय तहले बिहीबार पठाउँदै छ ।
चौरजहारी नगरपालिकाले बुधबार विभिन्न जिल्लामा अलपत्र परेका मजदुरको दुईवटा गाडीमा उद्धार गरेको छ । नगरपालिकाबाट तीन सय ५७ जना मजदुरीका लागि विभिन्न जिल्ला पुगेको तथ्यांक रहेको र यसमध्येमा घर फर्किन चाहने सबैलाई उद्धार गरिरहेको नगरपालिकाले जनाएको छ । जिल्लाको सानीभेरी गाउँपालिकाले मजदुरको उद्धारका लागि बुधबार पाँचवटा गाडी विभिन्न जिल्लामा पठाएको छ । देशका २० वटा जिल्लामा अलपत्र परेका गाउँपालिकाभित्रका दुई सय १२ जना मजदुरको उद्धार गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिंह विष्टले जानकारी दिए ।
विभिन्न जिल्लालाई समेट्ने गरी रुट तय गरिएको र सोहीअनुसार गाडी पठाइएको उनको भनाइ छ । उनका अनुसार रामेछाप र दोलखाका लागि रामेछापको मन्थलीमा, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकका लागि काभ्रेको बनेपामा तथा काठमाडौं, ललितपुर, भक्तपुर र धादिङका लागि काठमाडौंमा गाडी पठाइएको छ । एउटा गाडी गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी र बाग्लुङका मजदुर लिन प्रत्येक जिल्ला पुग्नेछ भने अर्को एउटा गाडी मजदुर लिनका लागि मोरङ, चितवन, कपिलवस्तु र दाङ जानेछ । सबै मजदुरहरू सम्पर्कमा रहेको र उनीहरूलाई गाडी पुग्ने ठाउँका बारेमा जानकारी गराइएको गाउँपालिकाले जनाएको छ ।
मुसिकोट नगरपालिकाले एक सय सातजना मजदुरको काठमाडौंबाट उद्धार गर्दै छ । जसका लागि नगरपालिकाले बुधबार नै दुईवटा गाडी काठमाडौं पठाएको छ । अलपत्र परेका अन्य मजदुर सम्पर्कमा आएमा उनीहरूको समेत उद्धार गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिए । आठबिसकोट नगरपालिकाले पनि दुईवटा गाडी पठाएको छ । गोरखालगायतका विभिन्न जिल्लामा अलपत्र परेका मजदुरहरूको उद्धारका लागि बुधबार जिल्लाबाट गाडी पठाइएको नगरपालिकाले जनाएको छ ।
अहिलेसम्म एक सयको हाराहारीमा मजदुरहरू जिल्ला फर्किनका लागि सम्पर्कमा रहेको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । बाँफीकोट गाउँपालिकाले एक सय ३५ जना अलपत्र मजदुरको उद्धार गर्दै छ । गाउँपालिकाले बिहीबार दुईवटा गाडी काठमाडौं, धादिङ, चितवन र कपिलवस्तुमा अलपत्र परेका मजदुरको उद्धारका लागि पठाएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । जिल्लाको त्रिवेणी गाउँपालिकाले पनि मजदुरको उद्धारका लागि बिहीबार गाडी पठाउँदै छ ।
सम्पर्कमा आएका ७५ जना मजदुरको रामेछाप, काठमाडौं, दाङलगायतका जिल्लाबाट उद्धारका लागि गाडी पठाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए ।










