मुख्यमन्त्री शाहीद्वारा प्रजिअलाई निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका १० जिल्लाका प्रमुख जिल्ला अधिकारलाई निर्देशन दिनुभएको छ ।

उहाँले आज १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडियो कन्फ्रेन्समार्फत जिल्लाको समस्यामा प्रभावकारी समन्वय गर्न निर्देशन दिनुभएको हो । उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानीपूर्वक काममा खटिन प्रजिअलाई सुझाउनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “घर परिवार भित्रकै जनशक्तिको प्रयोगबाट मौसमी कृषि कार्य गर्न स्थानीयसँग सहजीकरण र कम जनशक्ति एवं मेसिनको प्रयोगबाट हुने विकास निर्माणका कार्यको व्यवस्था मिलाउनोस् ।” अति समस्यामा रहेका कारण स्थानीय तहको समन्वयमा जिल्ला भित्रिएका मजदूर विद्यार्थीलगायत सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र लकडाउन लम्बिदा हुन सक्ने खाद्य सङ्कटको समाधानमा आवश्यक समन्वय गर्न उहाँले प्रजिअलाई निर्देशन दिनुभयो ।

भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री शाहीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका सम्बन्धमा जिल्लामा भइरहेका काम कारवाहीको बारेमासमेत जानकारी लिनुभयो । कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न र शान्ति सुरक्षा कायम राख्न प्रजिअलाई अहोरात्र खटिन भन्दै उहाँले जिल्लाको समस्या समाधानमा कर्णाली सरकार सहयोग गर्न तत्पर रहेको विश्वास दिनुभयो ।





error: Content is protected !!