विश्वका यी १६ भाग्यमानी मुलुक, जहाँ अझै कोरोना भाइरसको संक्रमण भेटिएको छैन

कोरोना भाइरसले यतिवेला विश्वव्यापी महामारीको रूप लिइसकेको छ । तर, यस्ता केही मुलुक पनि छन्, जहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुग्न सकेको छैन । हालसम्म कोरोना भाइरसको संक्रमण नदेखिएका मुलुकहरूको संख्या १६ रहेको छ ।

कोरोना भाइरसको संक्रमण विस्तारबारे विश्वव्यापी तथ्यांक दिइरहेको वर्ल्डोमिटरमा संक्रमणको सूचीमा नपरेका मुलुकहरूमा पूर्वी अफ्रिकी मुलुक कोमोरोज, ओशियाली मुलुकहरू किरिबाटी, भानुआटु, मार्सल टापु, पलाउ, टोंगा, सामोआ, माइक्रोनेसिया, नउरु, साओ टोमे र प्रिन्सेपे, सोलोमन टापु, दक्षिण अफ्रिकी मुलुक लेसोथो र ताजिकिस्तान, उत्तर कोरिया, तुर्कमेनिस्थान रहेका छन् ।

यद्यपी, उत्तर कोरियाको हकमा चाहिँ कोरोना भाइरस संक्रमणबाट मुक्त मुलुक भन्न नसकिने स्थिति छ । केही अघि उसले आफ्नो मुलुकलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको दावी गरेपनि विश्वसनीयता पुष्टि भएको छैन ।

कोरोना भाइरसको संक्रमण भएका मुलुकमा नेपालसहित विश्वका करिब एक सय ८५ मुलुक छन् । कोरोना भाइरसले विश्वव्यापी संक्रमणको रूप लिँदा उपरोक्त केही मुलुकमा संक्रमण नभेटिनु सुखद पक्ष हो ।

चीनको वुहान उद्गम मानिएको कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण यतिवेला युरोपमा फैलिएको छ । युरोपका ४४ वटै देश कोरोना भाइरसको संक्रमणबाट प्रताडित छन् । युरोपमा ११ लाख ४६ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तीमध्ये तीन लाख ५० हजार निको भइसकेका छन् भने करिब २६ हजारको अवस्थामा गम्भीर छ । बाँकी सबै संक्रमणको सामान्य अवस्थामा रहेका छन् । युरोपमा बुधबार साँझसम्म एक लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिका, क्यानडा लगायतको उत्तर अमेरिकामा आठ लाख ८१ हजार मानिस संक्रमित छन् । तीमध्ये एक लाख मानिस निको भइसकेका छन् भने १५ हजारको अवस्थामा गम्भीर छ । बाँकी संक्रमित सामान्य अवस्थामा रहेका छन् । त्यहाँ ४८ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

एसियाका ४८ वटै देशमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । एसियामा बुधबार साँझसम्म चार लाख १२ हजारमा संक्रमण भेटिएको छ । तीमध्ये करिब दुई लाख ९एक लाख ९३ हजार० निको भइसकेका छन् भने ६ हजारको अवस्था गम्भीर छ । बाँकी संक्रमितहरू सामान्य अवस्थामा छन् । एसियामा १५ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

ब्राजिल, अर्जेन्टिनालगायत दक्षिण अमेरिकामा ९१ हजार मानिस संक्रमित छन् । तीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने नौ हजारको अवस्था गम्भीर छ । दक्षिण अमेरिकामा चार हजार तीन सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

धेरैजसो अफ्रिकी मुलुकहरूमा पनि कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । अफ्रिकामा हालसम्म २५ हजार चार सय २६ संक्रमित भेटिएका छन् । तीमध्ये ६ हजारभन्दा बढी निको भइसकेका छन् भने एक सय ६४ संक्रमित गम्भीर अवस्थामा छन् । अफ्रिकामा एक हजार एक सय ९७ को मृत्यु भइसकेको छ ।

अष्ट्रेलिया, न्युजिल्यान्डलगायत ओशियाना क्षेत्रमा करिब आठ हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन् । संक्रमितमध्ये ८८ को मृत्यु भएको छ भने ६ हजार निको भइसकेका छन् । ५१ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।

बुधबार साँझसम्म कोरोना भाइरसबाट विश्वभर २५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । एक लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।





error: Content is protected !!