पहिले बम, अहिले कोरोना भाइरस

संसारलाई नै अस्तव्यस्त पारेको कोभिड–१९ महामारी यमनजस्तो द्वन्द्वग्रस्त मुलुकका लागि झनै बिकराल साबित हुनेछ ।

अन्य मुलुक कोभिड–१९ विरुद्ध लड्न बिरामीको उपचार र प्रभावकारी स्वास्थ्य सेवाका लागि अस्पतालको प्रबन्ध मिलाउँदै थिए । ठीक यही समय यमन भने मुलुकको स्वास्थ्य संयन्त्रलाई नै तहसनहस पारिदिने गृहयुद्धको छैटौँ वर्षमा प्रवेश गर्दै थियो । पहिल्यै मानिसले सिर्जेको द्वन्द्वका कारण ध्वंस भएको स्वास्थ्य संरचनालाई कोरोना भाइरस प्रकोपले झनै अस्तव्यस्त बनाउनेछ । किनकि, यमनको यो पाँच वर्षको बहुपक्षीय युद्धले अस्पताल र स्वास्थ्यकर्मीलाई समेत बाँकी राखेको छैन ।

मानव–अधिकारवादी संस्था म्वातनाले सूचीकृत गरेअनुसार सन् २०१५ देखि २०१८ सम्ममा विभिन्न समूहले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि कुल १२० आक्रमण गरेका थिए । यसमा ९५ स्वास्थ्यकर्मी र सर्वसाधारण मारिएका थिए भने सयौँ अन्य घाइते भएका थिए । यो त सतहमा देखिएका प्रतिनिधि घटना मात्र हुन्, वास्तविक संख्या अझ उच्च थियो । म्वातनाले अर्को अमेरिकी मानव–अधिकारवादी संस्थासँग मिलेर यी आक्रमणले यमनमा कसरी मानवीय संकट सिर्जना भयो भनेर यही मार्चमा अर्को अनुसन्धान सार्वजनिक गरेको छ ।

यो विध्वंसमा साउदी र युएई समर्थित गठबन्धन, होउथी सशस्त्र समूह र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको यमन सरकार तीनै पक्षको हात छ । सबैले हवाई र स्थल दुवैतिरबाट अस्पताल, स्वास्थ्य संस्था, औषधि निर्माण तथा वितरणका निकायमा आक्रमण गर्ने तथा लुटपाट मच्चाउने गरेका थिए । २०१५ मा जब म ताइज सहर र राजधानी सानाको अस्पताल हेर्न गएँ, त्यहाँको स्थिति बिकराल थियो । ताइजको सरकारी अस्पताल भूत घरजस्तो सुनसान थियो । यो क्षेत्र चाँडै नै होउथी समूह र राष्ट्रपतिपक्षीय सेनाबीचको द्वन्द्वस्थल बनेको थियो । यी समूहले सरसामान लुटेर लैजाँदा र आवागमन ठप्प पार्दा अस्पतालमा सामान्य उपचार सामग्री र औषधिदेखि अक्सिजनका सिलिन्डरसम्मको चरम अभाव थियो ।

त्यस्तै सानाको अस्पतालमा म जाँदा साउदी र युएई नेतृत्वको गठबन्धन समूहको हवाई आक्रमणमा परी घाइते भएकाहरूको उपचार गर्ने स्वास्थ्य सामग्री र उपकरण थिएनन् । अपर्याप्त स्वास्थ्यकर्मी भएको अस्पतालको करिडोर घाइतेले खचाखच भरिएको थियो । आवश्यक स्वास्थ्य सामग्रीको अभावमा चिकित्सक र नर्स आफैँ निरीह बनेका थिए । एक वर्ष युद्ध चल्दा २०१६ मै आधाभन्दा बढी स्वास्थ्य संस्था बन्द भएका थिए भने बाँकीमा पनि विशेषज्ञ, उपकरण र औषधिको चरम अभाव यथावत् थियो।

बचेका स्वास्थ्य संस्था पनि नाम मात्रका थिए, सशस्त्र समूहले स्वतन्त्र काम गर्ने वातावरण दिएका थिएनन् । बन्दुकको शासनमा निष्पक्ष स्वास्थ्य सेवाको अभ्यास हुन पाएको थिएन । सबै सशस्त्र समूहले स्वास्थ्यकर्मीलाई धम्की दिने, अपहरण गर्ने, आक्रमण गर्ने र मार्ने अभ्यास जारी राखेका थिए । यस्तो विषम परिस्थितिमा विदेशी स्वास्थ्यकर्मी, जो द्वन्द्वअघि २५ प्रतिशत थिए, द्वन्द्व सुरु भएपछि आफ्नो मुलुक फर्किए । यसले स्वास्थ्य क्षेत्रमा अर्को स्तरको क्षति पुगेको छ । अहिले यमनमा प्रति १० हजार नागरिकका लागि मात्र १० स्वास्थ्यकर्मी छन् । यो प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्डको पनि आधा मात्र हो । अस्तव्यस्त स्वास्थ्य सेवा र अपर्याप्त स्वास्थ्यकर्मीको सोझो मारमा यमनी नागरिक परिरहेका छन् । उनीहरूका लागि झाडापखाला र हैजाजस्ता रोकथाम हुने सामान्य रोग पनि महामारी बन्न सक्छन् ।

यमनका सशस्त्र समूहले यमनभरिका स्वास्थ्य क्षेत्रमाथिको आक्रमण तत्कालै बन्द गर्नुपर्छ । भएका आक्रमणको उचित छानबिन गरी पीडितप्रति जवाफदेही बन्दै आगामी दिनका लागि स्वास्थ्य क्षेत्रको सुरक्षा प्रत्याभूति दिलाउनुपर्छ ।

यमनमा हाम्रो सबैभन्दा ठूलो त्रास अब वास्तविकता बन्दै छ । त्यो हो, अर्को महामारी । संसारलाई नै अस्तव्यस्त पारेको नयाँ कोभिड–१९ महामारी यमनजस्तो द्वन्द्वग्रस्त मुलुकका लागि झनै बिकराल साबित हुनेछ । राजधानी सानामा रहेकी मेरी एक साथीले भनिन्– यदि यमनमा कोरोना भाइरस देखियो भने हामीले केही गर्नुपर्दैन, मात्र आफ्नो चिहान आफैँ खनेर मृत्युलाई कुरे हुन्छ ।

जहाँसुकै फैलिएको कोरोना भाइरस सबै ठाउँका मानिसका लागि चुनौती हो । अहिले सबै मुलुक कोरोना भाइरसविरुद्ध आ–आफ्नो स्वास्थ्य संयन्त्रको भरमग्दुर प्रयोग गरिरहेका छन् । त्यसैले पनि यमनजस्तो मुलुकले सम्भावित संकटलाई नजरअन्दाज गर्नु हुँदैन ।

(अल–मुतावाकेल यमनको मानव–अधिकारवादी संस्था म्वातनाकी संस्थापक अध्यक्ष हुन्)
अलजजिरा डटकमबाट





error: Content is protected !!