लकडाउन ः रामपुर दामाचौर जोड्ने कालीगण्डकीको झोलुङ्गे पुल बन्द

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ चैत ः रामपुर नगरपालिका ६ र चापाकोट नगरपालिका ८ जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल बन्द गरिएको छ ।

लकडाउनका समयमा रातको समयमा लुकिछिपी पुलबाट नदी वारपार गर्ने क्रम बढेपछि स्थानीयले आवतजावत रोक्न पुल बन्द गरेका हुन् ।

कोरना भाइरस सङ्क्रमणबाट जोगिन समायोजन दुरी कायम गरी एकान्तबास बस्न आग्रह गर्दै पुलको दुबैतर्फको भागमा स्थानीयले आवतजावत नै गर्न नमिल्ने गरी बन्द गराएका छन् ।

लकडाउनका समय घरमै बस्न आग्रह गरेपनि रातको समयमा पछिल्लो समय वारपार गर्नेको सङ्ख्या बढ्दै जान थालेपछि पुल बन्द गराएको स्थानीय मानबहादुर कुँवरले बताउनुभयो ।

“दिउँसोमा सुरक्षाकर्मी परिचालन गरिएको छ, लकडाउन सुरु गरेदेखि नै वारवार गर्न दिइएको थिएन, रातको समय मौका छोपेर आउने जाने गरेको पाइएपछि हामी स्थानीय मिलेर पुल बन्द गराएका हौँ” कुँवर भन्नुभयो ।

बन्द गरिएको पुल खोलेर जोखिम बढाउने काम कसैले गरेमा स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने स्थानीय ओमप्रकाश बस्याल बताउनुहुन्छ ।

प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने पाल्पाको रामपुर र स्याङ्गजाको चापाकोट जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल यस क्षेत्रको पुरानो पुल हो । रामपुर र चापाकोट जोड्ने कालीगण्डकीका विभिन्न स्थानमा पुल बनेपनि धेरै मानिसले यही पुल भएर आवतजावत गर्ने गर्दछन् ।





error: Content is protected !!