जनप्रतिनिधि पनि क्‍वारेन्टाइनमा

हरि गौतम
रुकुम पश्चिम ,  त्रिवेणी गाउँपालिकाका एक जनप्रतिनिधिलाई क्वारेन्टाइनमा राखिएको छ । गाउँ कार्यपालिका सदस्य खड्क नेपालीसहित १० जनालाई त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको हो ।

कामको सिलसिलामा गोरखा गएका उनीसहित ८ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए। उनका अनुसार एकजना यसअघि नै क्वारेन्टाइनमा थिए। ‘गोरखाबाट हिँडेदेखि नै उहाँहरु गाउापालिकाको सम्पर्कमा हुनुहुन्थ्यो,’ उनले भने, ‘सबैलाई घर जान नदिएर सडकबाट सोझै क्वारेन्टाइनमा राखिएको हो।’

गाउँपालिकाका अनुसार हिमालय माविमा पनि ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै ७ नम्बर वडाको साधारण मावि क्वारेन्टाइनमा ९ जना छन्। क्वारेन्टाइनमा रहेका २७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत रावलले बताए।

जिल्लाभरि ४९ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार चौरजहारी नगरपालिकाको क्वारेन्टाइनमा १३, मुसीकोट नगरपालिकाको क्वारेन्टाइनमा ७ र आठबीसकोट नगरपालिकाको क्वारेन्टाइनमा २ जनालाई राखिएको हो।

२ परीक्षण रिर्पोट ‘नेगेटिभ’

कोरोना भाइरसको संक्रमण भएको आशंकामा स्वाब परीक्षण गरिएका २ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। मुसीकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ व्यक्तिको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो।

दुवैको रिपोर्ट नेगेटिभ आएपछि जिल्लाभरिका क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य सामान्य रहेको पाइएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा महेश चौलगाईले बताए। १४ दिनसम्म क्वारेन्टाइनमा बसेका ७ जनालाई घर पठाइएको उनले जानकारी दिए।





error: Content is protected !!