कसरी हुन्छ कोरोना भाइरसको परीक्षण ?

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको परीक्षण कसरी हुन्छ ? भन्ने जिज्ञाशा पनि यतिवेला सबैमा उत्पन्न गराइदिएको छ । कोरोना संक्रमण भए–नभएको परीक्षणबाट मात्र यकिन गर्न सकिन्छ । त्यसका लागि कोरोना टेस्ट किटको माध्यमबाट यसको संक्रमण भए–नभएको हेर्ने गरिन्छ ।

विश्वका धेरै देशले कोरोना भाइरसको परीक्षणका लागि ‘रियल टाइम पोलिमेरेज चेन रिएक्सन’ ९पिसिआर०को प्रयोग गरेका छन् । भाइरस पत्ता लगाउने पोलिमेरेज चेन रिएक्सन विधि सन् १९८० पत्ता लागेको थियो । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको डिएनए पत्ता लगाउनदेखि फलफूलमा भाइरस रहे–नरहेको हेर्नसमेत यो विधि अपनाइन्छ ।

पिसिआर परीक्षणका लागि प्रिमियर प्राब्स रिएजेन्टको आवश्यकता पर्छ । रिएजेन्ट भनेको रासायनिक प्रतिक्रिया गराउने पदार्थ हो, यसै रियाक्सनको आधारमा परीक्षणको नतिजा सकारात्मक वा नकारात्मक पाइन्छ ।

परीक्षण सुरु गर्नुअघि भाइरसमा हुने आरएनए जेनेटिक म्याटेरियल डिएनएमा परिवर्तन हुनुपर्छ । त्यसका लागि एक प्रक्रिया अपनाइएको हुन्छ । कोरोना भाइरसमा हुने जेनेटिक म्याटेरियल आरएनए हो । त्यसैले यसलाई आरएनए भाइरस पनि भनिन्छ ।

सुरुमा संक्रमणको आशंका गरिएको मानिसको घाँटीबाट स्वाब अर्थात् र्‍यालको नमुना निकालिन्छ । यसलाई नमूना संकलन पनि भनिन्छ । स्वाब अथवा नमुनालाई उच्चसुरक्षाका साथ परीक्षण ल्याबमा ल्याइन्छ । त्यसपछि नमुनालाई टेस्ट ट्युबमा राखिन्छ ।

अनि भाइरसको आरएनएलाई डिएनएमा परिवर्तन गरिन्छ । त्यसका लागि एक किसिमको इन्जाइमको प्रयोग गरिन्छ, यो प्रक्रियालाई रिभर्स ट्रान्सक्रिप्सन भनिन्छ । त्यसपछि, प्रोब्स र प्रिमियर रिएजेन्टलाई ट्युबमा राखिन्छ, जसले डिएनएको कुनै एक भागको खोजी गर्छ ।

यदि रिएजेन्टबाट डिएनएमा खोजी गरिएको भाग भेटियो भने रिएजेन्टले त्यो भागलाई परिवर्तन गर्दै लगातार वृद्धि गर्छ, त्यसक्रममा त्यहाँ प्रकाश चम्किन्छ । डिएनएको भाग परिवर्तन हुने प्रक्रियालाई ‘जिन तारिगेटङ’ पनि भनिन्छ ।

परीक्षणकै लागि राखिएको एक किसिमको मेसिनमा प्रकाश कति पटक अथवा कति धेरै चम्कियो भनेर मापन हुन्छ । यदि त्यहाँ धेरै मात्रामा प्रकाश उत्पन्न भएको छ भने त्यो नतिजा सकारात्मक देखिन्छ अर्थात् संक्रमितमा कोरोना भाइरस रहेको पुष्टि हुन्छ ।

यदि प्रकाश थोरै मात्र उत्पन्न भएको छ भने नतिजा नकारात्मक हुन्छ । अर्थात् उक्त नमुना लिइएको व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि हुन्छ । यो सबै प्रक्रिया परीक्षण मेसिनभित्र टेस्ट ट्युबमा राखिएको सानो उपकरणमा सम्पन्न हुन्छ ।

कस्ले बनायो सुरुमा टेस्ट किट ?
वर्लिनमा, जर्मन वैज्ञानिक ओल्फर्ट ल्यान्डले सबैभन्दा पहिले टेस्ट किटलाई गत जनवरी ११ मा ताइवान र हङकङस्थित रोच फर्मास्युटिकल्स कम्पनीमा पठाएका थिए ।

सार्स एवं मेर्सको अनुभव भएका ल्यान्डल यस किटले काम गर्छ वा गर्दैन भन्नेमा ढुक्क भने थिएनन् । तर, किटले काम गर्यो र जनवरी १७ मा उक्त किट बनाउने ढाँचालाई विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको थियो ।

त्यसपछि जनवरीको अन्तसम्म ४० लाख र हाल हप्तामा १४ लाख परीक्षण किट उनको संस्थाले बनाएर बेच्दै आएको छ ।
त्यस्तै हङकङका प्रोफेसर डा। लियो पुन लिट म्यानको टिमले पनि परीक्षण किट बनाएर १६ डिसेम्बरमै विश्व स्वास्थ्य संगठनमा पठाएको थियो । पुनको टिमले ४० भन्दा बढी देशमा निःशुल्क रूपमा परीक्षण किट उपलब्ध गराएको छ ।

त्यस्तै, जनवरी १७ मा अमेरिकी रोग नियन्त्रण केन्द्रले आफ्नो ढाँचा परीक्षण किट बनाएको सार्वजनिक भएको थियो । जनवरी २४ मा चीनको परीक्षण किटको ढाँचा विश्व स्वास्थ्य संठनले प्रकाशित गरेको थियो ।

परीक्षण किट २४ घन्टामै बनाउन सकिने र ठूलो मात्रामा बनाउन सकिने विज्ञहरू बताउँछन् । तर, भाइरसको प्रकृति फरक भइदियो भने ती किटले परीक्षण गर्न नसक्ने सम्भावना पनि हुन्छ ।

जे होस्, कोरोना भाइरसको संक्रमण न्यून गर्न ठूलो मात्रामा परीक्षण हुन आवश्यक छ, त्यसका लागि थुप्रै कम्पनीहरूले परीक्षण किटको विकास गरिरहेका छन् ।
(एजेन्सीहरू)





error: Content is protected !!