कोरोनाविरुद्धको लडाइँमा संसारले पायो यस्ता ९ सफलता

कोभिड–१९ कोरोनाभाइरस महाव्याधिलाई रोक्न सरकार, समुदाय र संस्थाहरूको भूमिका अपरिहार्य छ । संयुक्त राष्ट्रसंघको वैश्विक लक्ष्य ३ ले देशहरूलाई सबै नागरिकको स्वास्थ्य सुरक्षा गर्न आह्वान गरेको छ ।

त्यसो त कोभिड–१९ ले संसारभरि नै आतंक मच्चाएको छ । यसले अहिलेसम्म १६ हजार ५१४ जनाको ज्यान लिइसकेको छ अनि अर्थतन्त्रहरू डामाडोल गराएको छ । वैज्ञानिकहरूले यो अझै भयावह स्थितिमा पुगेपछि मात्र मत्थर हुने अपेक्षा गरेका छन् ।

सार्वजनिक स्थानहरू बन्द गरिएका छन् । जीवन सामान्य स्थितिमा कहिले फर्किने हो भन्ने टुंगो छैन ।

तर यस संकटमा पनि आशाका किरणहरू प्रकट भएका छन् । वैज्ञानिकहरू, सरकारहरू र संघसंस्थाहरूले कोभिड–१९ विरुद्धको लडाइँमा प्रगति गरिरहेका छन् ।

यहाँ हामी कोरोना आएपछि भएका नौ राम्रा कुराको चर्चा गर्दैछौं
१ चीनमा संक्रमण घट्दो स्थितिमा
यो महाव्याधि चीनमा नै शुरू भएको हो र यसले तीन महिनासम्म देशलाई अस्तव्यस्त बनायो । तर चिनियाँ सरकारले लगातार पाँच दिनयता स्थानीयहरूमा नयाँ संक्रमण नदेखिएको बताएको छ । अहिले भएका संक्रमण सबै बाहिरबाट आएका मानिसमा देखिएको हो । चीनले महाव्याधि रोक्नका लागि अपनाएको आक्रामक उपायले काम गरेको देखिएको छ । भाइरसको संक्रमण रोक्न अन्य देशले पनि चीनको जस्तो उपाय अपनाउनु जरूरी छ ।

२ चीनमा अस्थायी अस्पताल बन्द
चीनमा नयाँ संक्रमण नदेखिएपछि कोरोनाभाइरसको उपचारकै लागि भनी खोलिएका अस्थायी अस्पतालहरू बन्द गरिएका छन् । अनि देशको स्वास्थ्य प्रणालीमा चरम दबाब घटेको छ । अब सरकारले संक्रमितहरूको उपचार गर्न र आफ्नो सीमाभित्र रोग निर्मूल पार्नमा ध्यान केन्द्रित गर्न पाएको छ ।

३ चीनले अन्य देशमा पठायो कोरोनाविज्ञ
चीनले विगत केही महिनायता कोरोनाभाइरसलाई कसरी जित्ने भन्ने विषयमा धेरै ज्ञान हासिल गरिसकेको छ । चिनियाँ वैज्ञानिकहरू, स्वास्थ्यकर्मीहरू र सरकारी अधिकारीहरू रोग व्यवस्थापनमा विज्ञ भइसकेका छन् । देशमा कोरोनाको संकट हट्दै जाँदा अब चीनले इटली, जापान, इराक, स्पेन र पेरु लगायतका देशमा अत्यावश्यक सामग्री तथा स्वास्थ्यकर्मीहरू पठाएर महाव्याधिलाई रोक्ने कोशिश गरिरहेको छ ।

४ खोपहरूको परीक्षण शुरू
वैज्ञानिकहरूले कोरोनाभाइरसविरुद्धका खोपहरूको परीक्षणमा राम्रो सफलता पाइरहेका छन् । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी यान्ड इन्फेक्सियस डिजीजेजका निर्देशक एन्थोनी फाउसीका अनुसार, यो आफैंमा लोभलाग्दो प्रगति हो । अहिले अनुसन्धाताहरूले खोपको परीक्षणमा तीव्रता दिइरहेका छन् र ती सुरक्षित रहेको निश्चित भएपछि सर्वसाधारणलाई खोप दिइनेछ ।

५ कोरोनाभाइरसको एन्टीबडी पत्ता लाग्यो
संसारभरि कोभिड–१९ बाट १ लाख २ हजार ६९ जना निको पनि भइसकेका छन् । वैज्ञानिकहरूले निको भएका मानिसको शरीरबाट एन्टीबडीहरू निकालेर सिरम बनाएका छन् । ती सिरमले भाइरस संक्रमितहरूको उपचार गर्न र भाइरसलाई परास्त गर्न सहायता गरेको जर्मन सञ्चारमाध्यम डोयच वलले लेखेको छ ।

६ विश्व स्वास्थ्य संगठनलाई सहायता
विश्व स्वास्थ्य संगठनले महाव्याधिविरुद्धको वैश्विक लडाइँको नेतृत्व गरिरहेको छ । उसले रोग कहाँ पुग्यो भनी पत्ता लगाउने, चिकित्सक र अत्यावश्यक सामग्री स्वास्थ्य प्रणालीको सहयोगका लागि पठाउने र उपचारहरू गराउने कामको नेतृत्व लिएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघले जोइन्ट सोलिडारिटी रेस्पोन्स फन्ड बनाएर महाव्याधिको नियन्त्रणमा आर्थिक सहयोग जुटाइरहेका छन् । गूगल, फेसबूक, फिफा लगायतका ठूला संस्थाहरूले उक्त कोषमा विशाल रकम जम्मा गरेका छन् । अनि विभिन्न सरकारहरूले कोषका लागि ३० करोड डलर रकम दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

७ सामुदायिक सहयोगमा वृद्धि
मानिसहरूले रोजगारी गुमाइरहेका छन् अनि गरीबीमा जाकिने जोखिम पनि बढेर गएको छ किनकि धेरै देशमा लकडाउन गरिएको छ । आर्थिक स्थिति अत्यन्त नाजुक छ । तर यस्तो संकटको स्थितिमा पनि संसारभरिका समुदायहरूमा एक्यबद्धताको भावना छ । विभिन्न राहत कोषहरू अनि फूड बैंकहरू स्थापना गरिएको छ । अत्यन्त जोखिममा परेकाहरूको सेवाका लागि समुदायहरूले स्रोत परिचालन गरिरहेका छन् ।

८ टेस्लाले अस्पतालमा भेन्टिलेटरहरू बनाइरहेको छ
अमेरिकाका अस्पतालहरूमा सघन उपचार कक्षहरू खचाखच भरिएका छन् । शय्या, भेन्टिलेटर र अन्य अत्यावश्यक सामग्रीहरूको अभावको स्थिति छ । आकस्मिक राहत तथा परीक्षण उपकरण प्राप्त गर्नका लागि सेना परिचालन गरिएको छ र निजी व्यवसायहरू पनि मद्दतका लागि अघि बढेका छन् । टेस्ला कम्पनीका संस्थापक एलन मस्कले आफ्ना कारखानाहरूमा भेन्टिलेटर उत्पादन गर्ने अनि अभाव झेलिरहेका अस्पतालहरूमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

९ पृथ्वी निको हुँदैछ
महाव्याधिका कारण मानिसको जीवन ठप्प छ । यसले गर्दा वातावरणले राहत अनुभव गरिरहेको छ । अहिले प्रकृतिको चरम दोहन गरिएको छैन । जल तथा जमीन दुवैथरी प्रकृति अहिले विनाशबाट बिस्तारै तंग्रिँदैछ र त्यसमा जीवन्तता देखिन थालेको छ । महाव्याधिको अन्त्यपछि मानवजातिले पाठ पढ्दै जलवायु परिवर्तन तथा वासस्थानको क्षयीकरण रोक्नका लागि प्रयत्न गर्लान् भन्ने आशा गरौं ।

ग्लोबल सिटिजन डट् ओर्गमा प्रकाशित जो मक्कार्थीको विश्लेषण





error: Content is protected !!