सोलार लिफ्टबाट खानेपानी

नरबहादुर रिजाल
दैलेख (रासस)ः उमेरले ६६ पुग्नुभएका भैरवी गाउँपालिका–१ का कर्णबहादुर कार्कीलाई बुढेसकालमा समेत पानी बोक्नुपर्ने समस्या कायमै थियो । यो उहाँको रहर नभएर बाध्यता थियो । दम रोगले समस्यामा पर्नुभएका कार्की आफूले छ महिनादेखि नधोएको कोट धुनका लागि पनि ३५ लिटरको जर्किनमा पानी बोकेर घरमा ल्याउनुभएको सम्झिनुभयो ।

घरभित्रको भान्सा र पानी व्यवस्थापनको काम विशेष गरेर महिलालाई हुने गर्दछ । वडा नं १ डावका महिला, पुरुष र विद्यालय जाने बालबालिकालाई पानीको जोहो गर्नेबारेमा सधैँ पिरलो हुने गर्दथ्यो । बस्तीभन्दा करिब एक घण्टा तल रहेको पानीको मुहान बाट पानी ल्याउन राति नै उठेर लाइन बस्नुपर्ने अवस्था थियो । पानी भरेपछि निकै उकालो डाँडाबाट बोकेर पानी लिनुपर्ने बाध्यता अहिले हटेको छ । गाउँका ४५ घरका बासिन्दाको दैनिकी अहिले फेरिएको छ । आँगनमै पानी आउला भनेर कल्पना नगरेका स्थानीय शुद्ध पानी गाउँमा आए पनि दङ्ग छन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र गाउँपालिकाको सहयोगमा सोलार लिफ्टमार्फत डाँडामा खानेपानी पुगेको हो । स्थानीयको घरमै पानी आएपछि महिला र पुरुषका दुःखका दिन सकिएको वडा नं १ का वडाध्यक्ष काशीराम कार्कीले बताउनुभयो । “पानी आउला भनेर जनताले सोचेका थिएनन्, अब वडा कार्यालय, शिक्षा र स्वास्थ्यमा समेत खाने पानी पुगेको छ”, कार्कीले भन्नुभयो ।

करिब चार महिनाअघि गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा रु ५० लाख लागतमा सोलार लिफ्टमार्फत पानी ल्याउने योजना बन्यो काम शुरु भयो, स्थानीय उपभोक्ता र कामको जिम्मेवारी लिएका निकायको प्रयासपछि अहिले सुख्खा डाँडामा पानी आउन शुरु गरेको छ । अहिले ३४५ मिटर अग्लो स्थानमा सोलारमार्फत पानी पुगेको छ । रातभर आठ हजार लिटर पानी मुहानकै ट्याङ्कीमा जम्मा हुन्छ र दिनभर आठ हजार लिटर पानी सोलारमार्फत गाउँमा पुगेको प्राविधिक सहजकर्ता जङ्ग रावलले जानकारी दिनुभएको छ ।

आधुनिक प्रविधिको प्रयोगले जनतालाई राहत भएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताउनुभयो । वडामा विद्युत् नपुगे पनि सौर्य ऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ । विद्यार्थीले भनेको समयमा विद्यालय जान पाएका छन् । महिलाको कार्य बोझ घटेको गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले जानकारी दिनुभयो । महिला र बालबालिकालाई निकै समस्या भए पनि अहिले समाधान भएको विष्टले बताउनुभयो । निर्माण भएको योजना दिगो बनाउन स्थानीयको सक्रियता बढ्नुपर्ने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत सल्लाहकार लक्ष्मीचन्द्र महतले जानकारी दिनुभयो ।





error: Content is protected !!