बाँझो जग्गामा ‘टर्किस’ ओखर

हरि गौतम
रुकुम पश्चिम ः वर्षौंदेखि बाँझो रहेको आठबीसकोट नगरपालिकाका खाली जग्गामा आकजल निकै चहलपहल बढेको छ । स्थानीय बासिन्दा खाडल खन्ने, मलको व्यवस्थापन गर्ने र बिरुवा लगाउने काममा जुटिरहेका छन् । व्यक्तिगत र सामूहिक रुपमा ‘टर्किस’ ओखर लगाउने काम भइरहेको छ ।

नगरपालिकाले किसानको आम्दानी बढाउन ओखरका बिरुवा खरिद गरेर किसानलाई बाँडेको छ । ‘सित्तैमा बिरुवा पाएपछि बाँझो जग्गामा धमाधम लगाइरहेका छौं,’ आठबीसकोट–५ का जनक विकले भने, ‘बिरुवा हुर्केपछि आम्दानी पनि राम्रै होला ।’

नगरपालिकाले टर्कीबाट दुई जातका बिरुवा ल्याएको छ । चार वर्षमा फल्ने ओखरका बिरुवा दुई वर्ष टर्कीमै हुर्केका थिए । पहिलो चरणमा ४० हजार बिरुवा रोप्न सुरु भएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । उनका अनुसार दोस्रो चरणमा ३० हजार बिरुवा ल्याएर रोपिनेछ । आगामी दुई वर्षभित्र ८ लाख बिरुवा लगाउने योजना रहेको उनले बताए । ‘नगरपालिकाको माथिल्लो क्षेत्रमा रहेका जग्गा अब खाली र बाँझो रहने छैनन्,’ उनले भने, ‘यसले यहाँका जनताको आयस्तर पनि बढाउने छ ।’

नगरपालिकाले एक रोपनीमा १३ वटा बिरुवा रोप्ने योजना बनाएको छ । नगर प्रमुख केसीका केसीका अनुसार दुई वर्षभित्र ८० हजार रोपनीमा ओखर लगाइनेछ । यहाँको भूगोल, माटो र वातावरणिय अवस्थाअनुसार टर्कीका बिरुवा उपयुक्त हुने भएपछि जहाजमार्फत ल्याएर रोप्न थालिएको उनले बताए । आठबीसकोटलाई ओखरको पकेट क्षेत्र बनाउने योजना उनले सुनाए । टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा ३ सय ७० रुपैयाँ परेको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा १ करोड १४ लाख रुपैयाँ खर्च गरिएको छ । यसमा नगरपालिकाका साथै कर्णाली प्रदेश सरकारको कृषि मन्त्रालयले पनि सहयोग गरेको छ ।नगरपालिकाले यसअघि बिभिन्नठाउँमा किबीका ५० हजार बिरुवा लगाएको छ । किबीका बोटमा फल लाग्नसमेत सुरु भइसकेका नगर प्रमुख केसीले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!