महिला किन बागी नबन्ने ?

रेखा थापा
संसद्मा पुगेका महिलाको भूमिका के छ ? कोट र लिपिस्टिक लगायो, ताली पड्कायो । खोइ संसद्को नीति निर्माणमा महिलाको हस्तक्षेप ?

नेपाली चलचित्र उद्योगमा म अहिले जुन ठाउँमा छु, आरोह–अवरोह पार गर्दै र आलोचना खेपेरै आइपुगेकी हुँ । यसबीचमा मैले आफ्नो कला देखाउने र जीविका चलाउने मात्र होइन, नेपाली चलचित्र उद्योगमा महिलाको नायकत्व किन हुँदैन भनेर जवाफ खोज्ने प्रयास पनि गरेकी छु । तर, उपयुक्त जवाफ अहिलेसम्म फेला परिसकेको छैन ।

चलचित्र उद्योगलाई अलिक पर राखेर समग्र देशकै कुरा गर्ने हो भने राज्यसत्ताको माथिल्लो ओहदादेखि तल सडकसम्म रहेका महिलाको अवस्था कस्तो छ रु राष्ट्रपतिजस्तो पदमा महिलाले प्रतिनिधित्व गरिरहँदा यो देशका कति दिदी–बहिनीले सडक र आफ्नो पेसामा सुरक्षित र समानताको अनुभूति गरेका छन् त रु आज बहस गर्नुपर्ने विषय यो हो ।

हाम्रो चलचित्र उद्योगमा अधिकांश महिला पात्रलाई कमजोर, पीडित र सहानुभूतियोग्य देखाउने गरिन्छ । प्रश्न के उठ्छ भने महिला साँच्चै कमजोर, पीडित र सहानुभूतिका पात्र मात्रै हुन् रु यसै प्रश्नले मलाई सधैँ घोचिरहन्छ । त्यसैले कम्तीमा मैले आफैं बनाउने चलचित्रमा महिलालाई कमजोर देखाउनु हुन्न भन्ने मान्यता बोकेकी छु । मैले कहिल्यै पनि महिलाका दुःख, पीडा, संवेदना देखाउनुलाई मात्र महिला सशक्तीकरणको मार्ग हो भनेर स्विकारिनँ । मानिसको दुःख, पीडा, संवेदना एउटा पक्ष हो भने सशक्तीकरण अर्को पक्ष हो । यी दुवैलाई एकै अर्थमा बुझ्नुहुँदैन भन्ने मेरो मान्यता छ ।

हाम्रो चलचित्र उद्योगमा ‘नायिकाको रोदनले निर्मातालाई फाइदा हुन्छ’ भन्ने धारणा थियो । तर, वास्तविक जीवनमा के पुरुष कहिल्यै रुँदैनन् रु रुन्छन्, तर चलचित्रमा किन महिलालाई मात्र रुवाइराख्ने रु खासमा चलचित्र निर्माताले महिलाको छेको पारेर पुरुषका संवेदनालाई नजरअन्दाज गरेका हुन् । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि अन्याय गरेको छ ।

मैले चलचित्र बनाउने मेसोमा देशव्यापी अभियान गरेँ र धेरै बाबुआमा भेटेँ । त्यहीँबाट मैले हाम्रो कमजोरी कहाँ रहेछ भन्ने बुझेँ । मानिसलाई लाग्दो हो, राज्यसत्ता र चलचित्रको के सम्बन्ध छ रु चलचित्र त आखिर मनोरञ्जन मात्रै हो भन्ने मानसिकता बोकेका निर्माता–निर्देशकले आफ्नै कर्मलाई पनि अवमूल्यन गरेका छन् । होइन भने राज्यसत्ताको चरित्रले सिनेमालाई पनि प्रभावित पार्छ । जबसम्म देशको राज्यसंरचनाको कमजोर सांस्कृतिक धरातल भत्काउन सकिँदैन, तबसम्म अर्थपूर्ण सिनेमा बनाउन सकिँदैन । र, त्यस्तो चलचित्रले समाजलाई पनि कुनै सन्देश दिन सक्दैन । कुनै चेत र सन्देश नबोकेको चलचित्रले महिला अथवा पुरुष कसैको पनि सशक्तीकरणमा योगदान गर्न सक्दैन ।

हुन त महिलाको चरित्रलाई लिएर समाजमा कैयौँ शताब्दीदेखि नकारात्मक धारणा छ । यसैको परिणाम हो, हामीले लगाएको लुगामा पनि समाजले बारम्बार खोट देख्छ । त्यसैले समाजलाई अघि बढाउने मानिस जहिले पनि बागी बन्नुपर्छ । तर, हाम्रा महिलाको मस्तिष्कमा सत्ताले एउटा यस्तो चित्र कोरिदिएको छ, जसबाट उनीहरूलाई बाहिर निस्कन अहिले पनि धौ–धौ परेको छ । सत्ताले एकैदिनमा यो चित्र कोरेको भने होइन । आज पनि हाम्रा दिदी–बहिनीलाई अरूले के भन्लान् भन्ने चिन्ता छ । तर, बागीलाई केको चिन्ता रु त्यसैले महिलाले सामाजिक संस्थाहरूलाई मान्नेभन्दा पनि आफैँमा एउटा संस्था भएर उभिनुपर्नेछ । इखले पनि बाँच्न सिकाउँछ ।

अहिले पनि महिला अरू कसैको नजरमा सुन्दर, सुसंस्कृत देखिनुपर्ने, अरू कसैले उनीहरूलाई राम्रो भनिदिनुपर्ने, के यो दृष्टिदोष होइन रु के उनीहरूको छुट्टै अस्तित्व छैन रु हामीले हाम्रो अस्तित्व देखाउन अरूबाट अनुमोदन पर्खने होइन, सही र गलतको निर्णय आफैँले गर्ने हो । तपाईंलाई आफूले सही गरिरहेकी छु भन्ने लाग्छ भने समाजको मतलब गर्ने होइन । तर, सवाल अझै पनि सकिएको छैन । चुरो कहाँ छ भने महिला आफैंलाई पनि शृंगारिक वस्तु बन्ने बानी लागेको छ । यो आफैँमा एउटा कुलत हो । चलचित्र उद्योगलाई मात्र होइन, संसद् भवनलाई नै हेरे पुग्छ । अपवादलाई छाड्ने हो भने अधिकांश महिला शृंगारिक वस्तुका रूपमा मात्र देखिन्छन् । कोट लगायो, लिपिस्टिक लगायो, अनि संसद्मा ताली पड्कायो । के उनीहरूसँग विद्रोह गर्ने शक्ति र सामथ्र्य छ रु दिनदिनै बलात्कारका घटना भइरहँदा महिला सांसद कहाँ छन् रु यो आफैँमा खोजीको विषय बनेको छ । मूल कुरा के हो भने सत्तादेखि सडकसम्म महिलालाई शृंगारिक वस्तुमै सीमित राखिएको छ । महिलालाई ‘तिमीहरू महिला मात्र हौ’ भनेर अनुभूत गराइएको छ । महिलाहरू त्यहाँबाट उठ्न सक्नुपर्नेछ । मेरो कुरा गर्दा मैले आफूलाई कहिल्यै पनि महिला मात्र भएको आभास हुन दिइनँ । किनभने म आफ्नो संरक्षण आफैँ गर्न सक्छु ।

नेपाली चलचित्रमा पुरुष नायकले मात्रै ‘फाइट–स्टन्ट’ गर्ने रे । मैले चलचित्रमा ती सबै काम गरेँ । तर, के ती काम पुरुषसँग प्रतिस्पर्धा गर्न गरिएको थियो रु होइन, एउटी महिलाले यी सबै गर्न सक्छे भनेर प्रमाणित गर्न गरेकी हुँ । हामी वस्तु होइनौँ भनेर प्रमाणित गर्न गरेकी हुँ । कुनै पनि स्थानमा पुग्न हामीले हाम्रो क्षमता, सीप र ज्ञान प्रयोग गर्नैपर्छ । जबसम्म महिलाले आफ्नो क्षमतामा विश्वास र त्यसमा वृद्धि गर्दैनन्, तबसम्म महिलालाई यो समाजले हेपी नै रहन्छ । चलचित्रकै कुरा गर्ने हो भने यसमा एकल प्रयासले निर्णायक भूमिका नखेल्न सक्छ । तर, केही पनि नभइरहेका वेला एकल प्रयासको पनि ठूलो अर्थ हुन सक्छ । मैले बनाएको ‘मालिका’ चलचित्रमा कर्णालीकी बालिकालाई ‘हिरो’ बनाएँ । यस सिनेमाले ती बालिकाको मानसिकतामा कति परिवर्तन ल्यायो होला रु समाजले उसलाई र उसको पुस्तालाई हेर्ने दृष्टिकोणमा के परिवर्तन आयो होला रु यसको पनि खोजीनीति हुँदै जाला । म भने सकारात्मक परिणामको अपेक्षामा छु ।

महिलासँग सम्बन्धित कुनै पनि घटनालाई यहाँ बडो रोमाञ्चित बनाइन्छ । एयरपोर्टमा आस्था राउतदेखि कञ्चनपुरकी निर्मला पन्तसम्मको घटनालाई रोमाञ्चक विषय बनाइयो । भर्खरै उपसभामुखको मुद्दालाई अनावश्यक रूपमा उछालियो । न्याय दिनुपर्ने ठाउँमा जब समाज नै रोमाञ्चित हुन थाल्छ, अनि न्याय नै अन्यायमा पर्छ । के यो आफैँमा उदेकलाग्दो छैन रु हामीसँग दृष्टिदोष छ भन्ने यसैबाट प्रमाणित हुन्छ । हामी चेतनाको तल्लो स्तरभन्दा अलिकति पनि माथि उठ्न सकेका छैनौँ । जबसम्म महिला आफ्नै खुट्टामा उभिन र दौडिन सक्दैनन्, आफ्नो अस्तित्वसहित बाँच्न सक्दैनन् तबसम्म देशमा चल्ने समृद्धिको नाराको कुनै अर्थ छैन । किनभने बहुसंख्यक महिला क्षमता हुँदाहुँदै पनि निष्क्रिय छन् । उनीहरू शासित हुन बाध्य छन् । त्योभन्दा पनि ठूलो कुरा उनीहरू अधिकांशसँग रोजगारी छैन । राज्यले आर्थिक राजमार्गको खाका कोरे पनि महिला अझै गोरेटेमै छन् ।

हो, चलचित्र उद्योग समाजको ऐना हो । यहाँ बौद्धिक, चेतनशील र मर्यादित हुनुपर्छ । अहिले चलचित्र उद्योगमा धेरै महिला आउनुभएको छ । उहाँहरूले नयाँ–नयाँ विषयमा फरकखाले काम गरिरहनुभएको छ । उहाँहरूले कसरी काम गरिरहनुभएको छ त्यो भिन्न विषय होला, तर अडान लिने, नडराउने हुँदा समाजले दबाउन खोज्ने रहेछ भन्ने मेरो अनुभव छ । अब हामीले यसरी काम गरौँ कि आउने पुस्ताले कसैको डर र दबाबमा परेर काम गर्न नपरोस् । किनभने हामी महिला दमित हुन जन्मेका होइनौँ ।




सम्बन्धित समाचार


error: Content is protected !!