चोरी निकासी रोक्न वन्यजन्तु पालन , ‘गण्डकीको मनाङ र कर्णालीको जाजरकोटमा प्रजनन केन्द्रमा जन्माएर कस्तूरी मृग पाल्न चाहने व्यक्ति र संस्थालाई बीउ प्राणी उपलब्ध गराउने

काठमाडौँ ः कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले मनाङ र जाजरकोटमा कस्तूरी प्रजनन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।
कश्मीर, अल्पाइन, कालो र हिमाली गरी चार प्रजातिका कस्तूरी नेपालमा पाइन्छन् । सुरुमा हिमाली र पछि कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माइनेछ ।
कस्तूरी मृगका प्रजातिसमेत पाल्न सकिने गरी सरकारले कानुन बनाई पाल्न पाइने वन्यजन्तु, चरा, सर्प र भ्यागुतालगायत बीउ प्राणी र लाइसेन्सको दस्तुर (शुल्क) समेत राजपत्रमा प्रकाशित गरिसकेको छ । लाइसेन्स र बीउ प्राणीको दस्तुरबारे मंसिर २३ मा राजपत्र प्रकाशित भएको छ ।
कस्तूरी पालनको लाइसेन्स लिन एक लाख र एउटा बीउ प्राणीको ७५ हजार रुपैयाँ दस्तुर तोकिएको छ । जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई, घोडगधा, खरायो, दुम्सी, बँदेल, भ्यागुता, पाहा, कछुवा, मयूर, कालिज, लुइँचे, मैना, सुगा, ढुकुर र तित्रालगायत बीउ प्राणी र लाइसेन्स दस्तुरसमेत तोकिएको छ । लाइसेन्सको १० हजारदेखि १ लाख र बीउ प्राणीको १ सयदेखि ७५ हजार रुपैयाँसम्म दस्तुर तोकिएको छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले अन्य प्रजातिका बीउ प्राणी सहजै उपलब्ध गराउन सकिए पनि कस्तूरी हिमाली क्षेत्रमा पाइने र तत्कालै उपलब्ध गराउन असम्भव भएकाले प्रजनन केन्द्रमा बीउ प्राणी उत्पादन गर्ने योजना अघि बढाइएको जानकारी दिए । ‘गण्डकीको मनाङ र कर्णालीको जाजरकोटमा प्रजनन केन्द्रमा जन्माएर कस्तूरी मृग पाल्न चाहने व्यक्ति र संस्थालाई बीउ प्राणी उपलब्ध गराउनेछौं,’ ढुंगानाले , ‘वन्यजन्तु पालनका लागि आवश्यक पर्ने सबै कानुन बनाइसकेका छौं ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले वन्यजन्तु पालनको लाइसेन्स, आवश्यक मापदण्डलगायत अन्य प्राविधिक तयारी अन्तिम चरणमा पुगेको बताए । चालु आर्थिक वर्षदेखि नै पालन प्रक्रिया अघि बढाउने विभागको चाहना छ । वन्यजन्तु पाल्न चाहनेले विभागमै सम्पर्क गर्नुपर्ने हुन्छ । प्रवक्ता ढुंगानाले कस्तूरी प्रजनन केन्द्र स्थापनाको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी० लाई दिइएको जानकारी दिए । नेपालका कस्तूरीमा विद्यावारिधि गरेका कोषमा कार्यरत पारसविक्रम सिंह छन् । प्रजनन केन्द्र स्थापनाका लागि आवश्यक प्राविधिक तयारीको काम अघि बढाउने जिम्मा कोषले सिंहलाई नै दिएको छ । उनका अनुसार प्रजनन केन्द्र स्थापनाका लागि मनाङमा ३१ सय मिटर र जाजरकोटमा २१ सय मिटर उचाइको स्थान पहिचान गरिएको छ । ‘केन्द्र स्थापना गर्ने ठाउँ पहिचान भइसकेको छ,’ उनले भने, ‘अब अत्याधुनिक केन्द्र बनाएर प्राकृतिक बासस्थानबाट कस्तूरी संकलन गरिनेछ ।’
प्रजनन केन्द्रका लागि सरकारले चालु आर्थिक वर्ष दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कस्तूरी प्रजननका लागि प्राकृतिक बासस्थान र तापक्रमसमेत सन्तुलन गर्नुपर्ने भएकाले उपयुक्त स्थान चयनका लागि अलि बढी समय लागेको उनले बताए । केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तूरी मृग प्राकृतिक बासस्थानबाट संकलन गरिने छ । ‘प्रजनन केन्द्रभित्र पनि सकेसम्म प्राकृतिक वातावरण दिन सकियो भने प्रजनन राम्रो हुने हाम्रो अपेक्षा छ,’ सिंहले भने, ‘प्राकृतिक बासस्थानमा रहेका कस्तूरीलाई जोखिम कम हुने गरी संकलन गरेर प्रजनन केन्द्रमा ल्याउने हाम्रो योजना छ ।’ विभागका अनुसार नेपालमा प्राकृतिक बाससस्थानमा ५ सयको संख्यामा कस्तूरी मृग छन् । धेरैजसो कस्तूरीले जुम्ल्याहा बच्चा जन्माउने भएकाले छिटो बीउ प्राणी उत्पादन गर्न सकिने सिंहले बताए । कस्तूरीले ९० प्रतिशत जुम्ल्याहा बच्चा जन्माउँछन् । कस्तूरीको प्रजनन गराउन र हुर्काउन तापक्रम भने बाह्रै महिना २५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्ने हुन्छ । ‘ब्रिडिङका लागि तापक्रम २५ डिग्रीभन्दा माथि कहिल्यै जानु हुँदैन,’ उनले भने, ‘सकेसम्म १८ डिग्री कायम भइरहे राम्रो ।’
प्रजनन केन्द्रमा कस्तूरीको उत्पादनमा विश्वमै चीन सफल र अग्रणी मानिन्छ । मंगोलिया र रुसमा पनि यो सफल भएको छ । सरकारले व्यावसायिक हिसाबले पालिएका वन्यजन्तुबाट जन्मिएका पुस्ता ९एफ २ जेनेरेसन०, तिनका अंग र अंग प्रयोग गरी तयार गरिएका वस्तु विदेश निकासी गर्न दिने गरी कानुन बनाएको छ । अब कस्तूरी मृग, सुगन्धित कस्तूरी ९बिना० र बिना प्रयोग गरी बनाइएका वस्तुसमेत निकासी गर्न पाइनेछ ।
सामान्यतया कस्तूरी २ हजार ५ सय मिटरभन्दा माथिल्ला भूभागमा बस्छ । वनले ढाकेको र अँध्यारो भाग मन पराउँछ । हतपत घाम नपुग्ने ठाउँलाई मुख्य बासस्थान बनाउने गरेको पाइन्छ ।
कस्तूरीको मुख्य आहार रूखमा टाँसिएका झ्याउ, घाँस, पात, फलफूल र सुकेको घाँसलगायत हो । ‘कस्तूरीलाई गुणस्तरीय खाना चाहिन्छ भन्ने छैन,’ कश्मीर कस्तूरी मृग पहिचान गरेका सिंहले थपे । भाले कस्तूरीको दाह्रा हुन्छ भने नाभीमा झन्डै दाँते ओखर जत्रो आकारको बिना ९कस्तूरी० हुन्छ । त्यसकै लागि यिनको चोरी सिकार हुने गरेको छ । भालेमा मात्र बिना हुन्छ । त्यो सुगन्धित हुन्छ । त्यो नै कस्तूरीको मुख्य आकर्षण हो । उच्च भागमा बस्ने भएकाले यिनलाई पासोमा पारेर मार्ने गरिएको छ । व्यावसायिक पालन खुला भएपछि अवैध चोरी रोकिने सरकारको अपेक्षा छ । सबभन्दा बढी सगरमाथा क्षेत्रमा अवैध चोरी हुने गरेको छ ।










