साँझ बिहान घरको काम गर्थिन्, दिउँसो श्रीमानले कोठी छाडिदिन्थे

भगवती पाण्डे
बुटवल ः घटना दुई महिना अघिको हो, नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गरेका दुई महिला र दुई किशोरीलाई भारतीय प्रहरी एसएसबीले सीमा क्षेत्रमै रोक्यो।

मंगोलियन अनुहारका किशोरीहरू तराई मूलका महिलाको साथमा सीमापार गर्दै गरेको देखेपछि एसएसबीले सोधपुछ गरेको थियो। सुधपुछको क्रममा सुरूमा आमा र छोरीहरू बताए पनि अनुहार र बोलीचाली नमिलेपछि एसएसबीले बेलहियामा रहेको माइती नेपालको जिम्मा लगायो।

सोधपुछ गर्दै जाँदा रुपन्देहीको कञ्चन गाउँपालिकाका चौधरी थरका दुई महिलाले कक्षा ८ मा पढ्दै गरेका गाउँकै दुई किशोरीलाई प्रशस्त धन कमाउने प्रलोभन देखाएर भारत लैजान थालेको पत्ता लाग्यो।

विद्यालय पोशाकमै आएका किशोरीलाई ती महिलाहरूले नातिनीको कपडा लगाएर सीमा पार गराउनै लाग्दा निगरानीमा परे। अहिले उनीहरूविरूद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलिरहेको छ।

गत कात्तिक १५ गते भारतको मुम्बईबाट पाँच जना महिला र बालिकाको उद्धार गरी नेपाल ल्याइयो। तीमध्ये एक जना २२ वर्षीया महिलालाई दुई वर्षीय छोरीसँगै उद्धार गरिएको थियो।

चितवन भरतपुर घर बताउने उनी विगत ३ वर्षदेखि श्रीमानबाटै मुम्बईमा देहव्यापारमा गर्दै आएकी थिइन्। उनलाई श्रीमानले देहव्यापार गर्न लगाएको बताउँथिन्।

भारतीय व्यक्तिसँगै विवाह गरेकी उनी साँझ बिहान घरमा आउँथिन् अनि काम गर्थिन् भने दिनभरि देह व्यापारको लागि श्रीमानले नै कोठीमा लगेर छोडिदिन्थे।

‘साँझ बिहान घरको काम गर्थें, दिउँसो श्रीमानले कोठीमा छोडिदिन्थ्यो,’उनले भनिन्।

उनलाई महिला तथा चेलिबेटी बेचबिखनविरूद्ध भारतमा काम गर्दै आएका संघसंस्था र भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको थियो।

यी त केही प्रतिनिधि घटना मात्र हुन्। राम्रो जागिर लगाइदिने र प्रशस्त पैसा कमाउने प्रलोभनमा परी नेपाली महिला तथा किशोरीहरू आफन्त तथा गाउँघरकै व्यक्तिबाट देह व्यापार तथा जोखिम कामको लागि बेचिएका छन्।

रुपन्देहीस्थित माईती नेपालको तथ्यांक अनुसार पछिल्लो चार वर्षमा सीमा क्षेत्रबाट र भारतबाट उद्धार गरी ल्याइएका महिला तथा बालबालिकाको संख्या उस्तै रहेको छ।

माईती नेपालका रुपन्देही संयोजक माया क्षेत्रीले खुला सीमा नाका कारण सीमा क्षेत्रमा निगरानी भइरहे पनि प्रभावकारी नभएको बताउँछिन्।

चार वर्षको अवधिमा मात्र झण्डै एक हजार एक सय महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाटै उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ।

त्यस्तै, भारतका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका एक सय चार जनालाई पनि आफन्तको जिम्मा लगाइएको छ।

आर्थिक वर्ष २०७२/०७३ मा २ सय ८९ जनालाई सीमा क्षेत्र र ३५ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएको थियो। त्यस्तै, आर्थिक वर्ष ०७३/०७४ मा सीमा क्षेत्रबाट २ सय ५० र भारतबाट ९ जनाको उद्धार गरिएको छ भने ०७४र०७५ मा सीमा क्षेत्रबाट २ सय ७२ र भारतबाट १० जनाको उद्धार गरिएको छ।

आर्थिक वर्ष ०७५/०७६ मा भारतीय क्षेत्रबाट उद्धार गरिएकाको संख्या ५० रहेको छ।

त्यस्तै, सीमा क्षेत्रबाट २ सय ५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ।

चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा पनि सीमा क्षेत्रबाट ८१ जना र भारतका विभिन्न स्थानबाट ७ जनाको उद्धार गरिएको छ।

यो संख्या माईती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो।

रुपन्देहीमा एबिसी नेपाल, साना हात, आफन्त नेपाल, थ्रि एन्जल्स, शुभअवसर ग्राम र माईती नेपालले मानव बेचबिखनविरूद्ध काम गर्दै आएका छन्। तीमध्ये चार वटा संस्थाले सीमाक्षेत्रमा निगरानी समेत गर्दै आएका छन्। तर एउटै अभियानमा काम गर्ने संघसंस्थाका बीचमा समेत समन्वय र सहकार्य नहुँदा समस्या यथावत् रहेको छ।

मानव बेचबिखनविरूद्ध काम गर्दै आएका संघसंस्था र नेपाल प्रहरी समेत बेलहिया नाकामा मात्र सीमित रहँदा मानव तस्करहरूले रुपन्देहीका अरु नाकालाई प्रयोग गर्न थालेका छन्।

रुपन्देहीका माईती नेपालका कार्यक्रम संयोजक क्षेत्रीले सीमा क्षेत्रमा निगरानी हुन थालेपछि एजेण्टहरूले सीमा पारिसम्म हिँडेर नै पठाउने गरेको बताइन्।

प्रविधिको विकाससँगै मोबाइल, ईमेल, इन्टरनेटको प्रयोगका कारण पनि महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेका छन्।

घरपरिवारसँग बेमेल भएका, घरेलु हिंसामा परेका र छिटो पैसा कमाउने सपनादेखि वैदेशिक रोजगारमा जान चाहनेहरू बढी मात्रामा बेचबिखनमा पर्ने गरेको क्षेत्रीले बताइन्।




सम्बन्धित समाचार


error: Content is protected !!