अफ्रिकाको कुन ठाउँबाट बसाइँ सरेर आएका थिए हाम्रा मानव पुर्खा ?

काठमाडौं, पछिल्लो अध्ययनअनुसार हामी सबै मानव जातिका पुर्खा कुनै समय अफ्रिकाको बोत्सवानास्थित जाम्बेजी नदीको दक्षिणी किनारमा बसोबास गर्थे।
गार्डियनपछिल्लो अध्ययनअनुसार हामी सबै मानव जातिका पुर्खा कुनै समय अफ्रिकाको बोत्सवानास्थित जाम्बेजी नदीको दक्षिणी किनारमा बसोबास गर्थे।
मानव जातिको उद्गम कहाँ भयो

मानवशास्त्रीहरूले यसबारे थुप्रै अध्ययन गर्दै आएका छन्। पछिल्लो अध्ययनले हामी सबै मानव जातिका पुर्खा कुनै समय अफ्रिकाको बोत्सवानास्थित जाम्बेजी नदीको दक्षिणी किनारमा बसोबास गर्थे भनी किटान गरेको बिबिसीले लेखेको छ।

बोत्सवानाको उक्त क्षेत्र अहिले नुन लगायतका खनिज पदार्थहरूको स्रोतका रूपमा चर्चित छ। दुई लाख वर्षअघिसम्म यो ठाउँ ठूलो ताल थियो। सहज रूपमा उपलब्ध हुने पानीको स्रोतलाई ध्यानमा राखेर हाम्रा पुर्खाले यहाँ पहिलो बस्ती बसालेको वैज्ञानिक अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार मानव पुर्खाले करिब ७० हजार वर्षसम्म यो ठाउँलाई आफ्नो घर बनाए। स्थानीय जलवायुमा आएको ठूलो परिवर्तनका कारण त्यो ठाउँ बस्नयोग्य नभएपछि उनीहरू बसाइँ सरेर लाखापाखा लागे।

बसाइँ सर्ने क्रममा खेतीयोग्य उब्जाउ जमिनको बाटो पछ्याउँदै हाम्रा पुर्खाहरू बोत्सवानाबाट अफ्रिकाका विभिन्न ठाउँ र त्यहाँबाट अन्य महादेशतिर सर्दै गएको अनुसन्धानकर्ताहरू बताउँछन्।

‘मानव जातिको पुर्खा लगभग दुई लाख वर्षअघि अफ्रिकामा देखापरेका थिए भन्ने वैज्ञानिक अनुसन्धानले धेरैअघि पुष्टि गरिसकेको छ, तर अफ्रिकाको कुन ठाउँमा पहिलो मानव बस्ती बसेको थियो भन्ने यकिन थिएन,’ अस्ट्रेलियास्थित गार्भन इन्स्टिच्यूट अफ मेडिकल रिसर्चका अनुसन्धानकर्ता प्राध्यापक भेनेसा हायसलाई उद्धृत गर्दै बिबिसी लेख्छ।

उनका अनुसार जाम्बेजी नदीको दक्षिणमा एकदमै फराकिलो सिमसार क्षेत्र थियो। यो ठाउँ उब्जाउ र हरियालीयुक्त थियो। हाम्रो मानव पुर्खा र अन्य थुप्रै जातका पशुपन्छीहरूले लामो समय यहाँ बसोबास गरेको हुँदा मानव सभ्यताको पहिलो व्यवस्थित बसाइ यही ठाउँमा भएको प्रध्यापक हायसको निष्कर्ष छ।

‘करिब ७० हजार वर्षसम्म यो ठाउँमा बसेपछि हाम्रा पुर्खाहरू यहाँबाट विभिन्न ठाउँमा लाखापाखा लागे,’ उनले भने।

अनुसन्धान क्रममा अफ्रिकाको नामिबियाका स्थानीयसँग कुराकानी गर्दै प्राध्यापक भेनेसा हायस। तस्बिर स्रोतस् द गार्डियन
खासगरी पानी पर्ने समय अस्थिर हुँदै गएपछि मानव सभ्यताको पहिलो बसाइँसराइ सुरू भयो। यो बसाइँसराइ तीन चरणमा भएको अनुसन्धकर्ताहरूको निष्कर्ष थियो। उनीहरू १ लाख ३० हजारदेखि १ लाख १० हजार वर्षअघिबाट लाखापाखा लाग्न थालेका थिए।

पहिलो झुन्ड बोत्सवानाबाट उत्तर–पूर्वी दिशातिर बढेको थियो भने दोस्रो चरणमा हाम्रा पुर्खाहरू दक्षिण–पश्चिम क्षेत्रतिर लागे। एकतिहाइ जनसंख्या अहिले पनि त्यही ठाउँमा बसोबास गर्दै आएको अनुमान गरिन्छ।

वैज्ञानिकहरूले यो अनुसन्धान क्रममा संसारभरबाट सयौं मानिसको डिएनए नमूना परीक्षण गरेका थिए। त्यसको मूलजरो पछ्याउँदै जाँदा हामी सबैका पुर्खा अफ्रिकाको बोत्सवानाबाट संसारभरि फैलिएको निष्कर्ष आएको हो।

विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ मा प्रकाशित प्राध्यापक हायसको यो निष्कर्षमा सबै अनुसन्धानकर्ताको सहमति भने छैन।

प्राचीन जीवाशेष (फोसिल) अनुसन्धान गरेका अन्य वैज्ञानिकले फरक नतिजा निकालेका छन्। उनीहरूका अनुसार मानव पुर्खाको उद्गम स्थल पूर्वी अफ्रिका हो।

लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका प्राध्यापक क्रिश स्ट्रिङ्गरले मानव पुर्खाको उद्गम अत्यन्तै जटिल प्रक्रिया भएको बताएका छन्। ‘आजका मानिसको डिएनए परीक्षणका भरमा पहिलो बसोबास कहाँ भयो भन्ने पत्ता लगाउन मुश्किल हुन्छ,’ उनले भने, ‘त्यही आधारमा कुनै एउटा ठाउँबाट मानव पुर्खा संसारभरि फैलिएका हुन् भन्ने निष्कर्षमा पुग्न सकिन्न।’

सबै मानिस अफ्रिकाको एउटै ठाउँमा बसोबास गर्थे भन्ने तर्क पत्याउन नसकिने उनको भनाइ छ। ‘अफ्रिकाबाटै फैलिएका भए पनि उनीहरू फरक–फरक ठाउँमा फरक–फरक झुन्डमा बसोबास गर्थे होलान्,’ उनले भने।




सम्बन्धित समाचार


error: Content is protected !!