चीन भ्रमणबाट फर्केर मुख्यमन्त्रीले भने– कर्णालीमा लगानी गर्न चिनियाँ कम्पनी इच्छुक


चीन भ्रमणबाट फर्केका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा चिनियाँ कम्पनीहरू लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
बुधबार स्वदेश फर्किएका मुख्यमन्त्री शाहीले सञ्चारकर्मीसँग कुराकानी गर्दै कर्णालीमा पर्यटन विकास, पूर्वाधार निर्माण, कृषि प्रवद्र्धन, एकीकृत बस्ती विकास र जडीबुटीको क्षेत्रमा चिनियाँ कम्पनी इच्छुक देखिएको बताए । दशदिने भ्रमणका क्रममा विभिन्न कम्पनी कम्पनीसँग छलफल गरेको उनको भनाइ थियो ।
तिब्बत सरकारले हिमालसँग जोडिएका देशको सहभागितामा आयोजना गरेको बिआरआईसम्बन्धी छलफल कार्यक्रममा भाग लिन मुख्यमन्त्री शाही २७ असोजमा चीन गएका थिए । कार्यक्रममा बंगलादेश, नेपाल, पाकिस्तान, म्यानमार, मंगोलियालगायतका देशका मन्त्री, मुख्यमन्त्रीलगायत सरकारका प्रतिनिधि सहभागी थिए ।
यस क्रममा कर्णाली प्रदेश र चीनको सान्ताउ प्रदेश, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चीनको सान्ताउ सिटीबीच भगिनी सम्बन्ध बनाउने विषयमा छलफल भएको उनले बताए । यसका लागि संघीय सरकारको अनुमति लिएर तत्काल पहल गरिने उनको भनाइ थियो ।
सुर्खेत चक्रपथ र सुरुङमार्गबारे छलफल
कर्णालीको विकासका लागि चीन सरकारले सहयोग गर्ने विश्वास दिलाएको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णाली प्रदेशको राजधानी सुर्खेतको चक्रपथ निर्माण र सुर्खेतदेखि बर्दियासम्मको सुरुङमार्ग निर्माणको सर्भे गर्नका लागि चिनियाँ सरकारसँग छलफल भएको छ,’ मुख्यमन्त्री शाहीले भने । दुवै आयोजना निर्माणका लागि संघीय सरकारबाट आवश्यक वातावरण तयार भए चिनियाँ सरकार सहयोग गर्न सकारात्मक रहेको उनको भनाइ थियो ।
त्यस्तै, तिब्बतमा निर्माण गरिएको एकीकृत बस्ती विकासको मोडेल कर्णालीका लागि अनुसरणीय भएको मुख्यमन्त्री शाहीले बताए । ‘हामीले कर्णालीमा गर्ने भनेकोजस्तै एकीकृत बस्ती विकास तिब्बतामा गरिएको रहेछ ।
यो मोडेल हाम्रा लागि पनि प्रभावकारी मात्र होइन कर्णाली समृद्धिको आधार पनि बन्न सक्ने देखियो,’ उनले भने । एकीकृत बस्ती विकासका लागि संघीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने वातावरण बनाए, सहयोग गर्न चिनियाँ कम्पनी सकारात्मक रहेको उनले बताए ।










